बसन्त महर्जन
आमाहरू घरमा मात्र होइनन्, बाहिर समाजमा पनि सक्रिय भई प्रभावकारी भूमिका निभाउन सक्छन् भन्ने कुराको उदाहरण पोखराका आमाहरूले दिएका छन् । समाजमा यहाँका आमाहरूको 'साख' कति छ भन्ने कुरा पोखरा क्षेत्रमा एकप्रकारले कहावतजस्तै बनेको छ, त्यो के हो भने, बरु वडाध्यक्ष वा सदस्यले भनेको कुरा कतिपय अवस्थामा नगरवासीले टेर्दैनन्, तर आमा समूहहरूले भनेको कुरा सरक्कै मान्छन्। झट्ट सुन्दा पत्याउन नसकिने कुराजस्तो लाग्छ यो, तर त्यहाँका जनप्रतिनिधिहरू पनि यो कुरा नकारिहाल्दैनन् । पोखरा उपमहानगरपालिकामा मात्रै पाँच दर्जनभन्दा बढी आमा समूह टोलटोलमा गठन गरिएका छन् । पोखरेली जनजीवनमा आमा समूह संस्कृतिकै एक पाटो बन्न पुगेको छ भन्दा फरक नपर्ने भएको छ । उपमहानगरपालिकाको कुनै भागमा पुगेर त्यहीं बसोबास गर्दै आइरहेका बच्चा, बूढा, युवा, युवती जोसँग पनि सो ठाउँका आमा समूहका सदस्यहरू कहाँ हुनुहुन्छ - भनी प्रश्न गर्दा जवाफमा उत्तरदाताको परिवार नै पर्ने गर्छन् वा उत्तरदाता आफैं पनि हुन सक्छन् । यस्ता समूह टोलैपिच्छे छन् । प्रत्येक समूहमा सरदर साठी सदस्य रहेका छन् । सुरुवातका आमा समूहहरूमध्ये एक भैरव टोल आमा समूहका अध्यक्ष गौरी शाही भन्छिन्, 'नौ वर्षघि हामीले समूह स्थापना गरेका थियौं । त्यतिबेला यस्ता समूह दर्ुइ-तीनवटा मात्रै थिए । हामीले राम्रो काम गरेको देखेर धेरैले टोलटोलमै यस्ता समूह खोल्न सुरू गरे । अन्य टोलका समूहहरूमा नयाँ विषयमा छलफल भयो भने त्यस्तै काम गर्न आमाहरू हौसिहाल्छन् । कहिलेकाहीं संयुक्त रूपमा पनि कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौं ।' गाउँमा धेरै काम आमा समूहमार्फ नै हुने गरेका छन् । सानो काम लिएर प्रहरी प्रशासनलाई गुहार्न गयो भने सो काम हुन महिना दिन लाग्छ । तर, आमा समूहको राय भने धेरैलाई चित्तबुझ्दो लाग्यो भने एकैछिनमा फैसला भइहाल्छ । धेरै खर्च पनि नलाग्ने, समयमै न्याय पनि पाइहाल्ने । धेरै गाउँलेको मन जित्न सफल भएका छन् यस्ता आमा समूह । नेपालमा नागरिकता ऐनअनुसार बाबुको सिफारिसबिना तथा स्वीकृतिबिना छोराछोरीले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्दैनन् । यस्तो अवस्थामा त्यस्ता छोराछोरीले नागरिकता नपाउने र त्यसबाट नागरिक हुँ भनेर शीर ठाडो पार्न मात्र नसक्ने नभई नागरिक भएको नाताले पाउनसक्ने सुविधाहरुबाट समेत बन्चित हुनु पर्दछ । मुलुकमा महिला अधिकारवादीहरु आमाको नामबाट पनि नागरिकता पाउनु पर्ने व्यवस्था हुनुपर्ने आवाज उठाइरहेका छन् । महिला जागृति आमा समूहका अध्यक्ष सुभद्रा कोइराला गर्वका साथ भन्छिन्- 'बाबु पत्तो नभएका छोराछोरीका लागि नागरिकता दिलाइदिने काममा हामी लागेका छौं र केहीलाई दिलाइ दिएका पनि छौं ।' आफ्नै पाराले उनी भन्छिन्, 'हाम्रैअगाडि हुर्के-बढेकी छोरीसित बिहे गरेर गर्भधारण गर्राई लोग्ने भाग्छ । कतिपयले स्वास्नी पनि स्वीकार्न मान्दैनन् । यसमा आमा र सन्तानको के दोष - तर, यसरी जन्मेका बालबालिकाले नागरिकता पाउँदैनन् । यस्ता सन्तान नेपाली नागरिकता पाउनबाट बन्चित नहोऊन् भन्ने हाम्रो भनाइ हो । विदेशीलाई नागरिकता दिलाउन त लागेका होइनौं नि हामी ।' आफूहरूले नागरिकताको प्रमाणपत्र दिलाइदिएकामध्ये स्थानीय बाराही माध्यमिक विद्यालयबाट एसएलसी उत्तर्ीण्ा गरेकी एउटी श्रेष्ठ थरकी युवतीका बारेमा उनी सुनाउँछिन्, 'यहाँ हाम्रै छिमेकी नानीलाई एउटा केटाले मन परायो र गर्भधारण पनि गरायो । तर, पछि घर भित्र्याउन मानेन र भाग्यो । बच्चा जन्माएर आमा पनि अन्तै लागी । सानी बच्चीलाई उनकी हजुरआमा र हामीहरूले हर्ुकायौं । तर, उनलाई नागरिकता दिलाउन निक्कै गाह्रो भयो । तर, लागिपर्यो भनेे असम्भव लाग्ने काम पनि सम्भव हुँदोरहेछ ।' उनी अगाडि थप्छिन्, 'महिला जागृति आमा समूहसहित परोपकार आमा समूह र जाल्पादेवी आमा समूह मिलेर केटाको नजिकको एकजना नातेदारलाई मनायौं र दुई वर्षअघि नागरिकता दिलायौं । यसरी नै नागरिकता दिलाउनुपर्ने बच्चाहरू अहिले पनि गाउँमा पाँचजना छन्, वृद्धाहरूले पनि पाइराखेका छैनन्, सबैलाई नागरिकताको प्रमाणपत्र दिलाउने कोसिस गरिरहेका छौं ।' घार्मी (पोखरा) मा एक आचार्यकी छोरीलाई लोग्ने र घरपरिवारले कम दाइजो ल्याएको भनेर हेप्ने, तर्साउने तथा सताउने गरेका थिए । गत मंसिर २४ गते विवाह गरेर ल्याइएकी ती महिलालाई अर्काको गर्भ बोकेकी भनेर घरपरिवारले कुटपिट गरे । राति जंगलमा फाल्न पनि लगे । यो कुरा थाहा पाएर महिला जागृति आमा समूह र मानव अधिकारवादी संस्थाको संयुक्त पहलमा यसविरुद्ध कारबाही चलाउन दबाब दिए । पछि लोग्नेलाई प्रहरी हिरासतमा र पीडित महिलालाई अस्पतालमा आफूहरूकै सक्रियतामा भर्ना गरिएको अध्यक्ष कोइराला बताउँछिन् । यस्ता आमा समूहहरू महिलाका समस्या समाधानमा मात्र सीमित छैनन् । आफ्नो टोलमा मन्दिरको निर्माण वा जीर्णोद्धार मात्र नभई दैनिक पूजापाठका लागि आवश्यक बन्दोबस्त पनि मिलाउँछन् । यसरी नै खानेपानीको ट्यांकी, किरियास्थललगायतका थुप्रै निर्माण कार्यमा आमा समूहको सक्रियता रहन्छ । पुरुषसँगको साझेदारीमा पनि यस्ता निर्माण कार्यहरू भएको पाइन्छ । महिला जागृति आमा समूहकै सक्रियतामा चार र पाँच वडाको बीचमा १७ लाखको पुल पुरुषसँगको साझेदारीमा बनाइएको छ । परोपकार आमा समूहका अध्यक्ष गोमादेवी गोदार आफ्नो समूहले सत्र-अठार लाखको आर्थिक कारोबार गरिरहेको बताउँछिन् । यी आमा समूहहरूको आर्थिक सफलताको एक उदाहरण मैदान आमा समूहले स्थानीय एक माध्यमिक विद्यालयलाई आर्थिक सहयोग दिइराख्नसक्ने हैसियतसमेत राखेकोबाट अनुमान गर्न सकिन्छ । पोखराका आमा समूहहरूको एउटा साझा विशेषता समूहमा आमाहरू मात्रै हुनु हो । यी समूहले बुहारीलाई उत्तराधिकारीको रूपमा लिइआएका छन् । आमा वा सासुभन्दा बुहारीहरू पढेलेखेको हुनेहुँदा तिनीहरुको सहभातिता बढाउँदा अझ राम्रो हुने देखिन्छ । तर आमाहरुको तर्क आफ्नै छ, भन्छिन्- सासु बुहारी दुवै समूहमा लाग्दा घर कसले हेर्छन् त ? आमाहरूले नसक्ने ठाउँमा जान र काम गर्न बुहारीहरूलाई बोलाउने र सहयोग लिने गरेकै छौं ।' यसरी नै बिहे नै नगर्ने गरी माइतमा नै बसिरहेका बाहेक अरु छोरीहरुको भूमिमा काम पर्दा सहयोगीको रुपमा मात्रै हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध मानवशास्त्री सुरेश ढकाल आमा समूहहरूको क्रियाशीलता समाज विकासका लागि उदाहरणीय हुने बताउँछन् । स्थानीय स्रोतसाधनमा आधारित यो क्रियाकलाप दर्ीघकालीन विकासको दरिलो आधार हुने विचार उनको छ । उनी भन्छन्, 'यी आमा समूहले स्थानीय साधनस्रोत जुटाउनु र दश-बाह्र लाखको आर्थिक कारोबार गर्नु आफैंमा ठूलो कुरा हो । यस्ता क्रियाकलापको विस्तार अन्यत्र पनि गरिनु पर्छ ।' समूहहरूको नियमित आर्थिक स्रोत सदस्यहरूबाट महिना-महिनामा उठाइने 'लेबी' रहेको छ भने अन्यमा भैलो, चन्दा, स्थानीय निकायबाट पाइने आर्थिक सहयोग, तालिमबाट उठ्ने पैसा रहेको छ । कुनैकुनै आमा समूहका आफ्नै भवन छन् । उनीहरूले केही कोठा भाडामा पनि दिएका छन् । कसैले त विदेशबाट लाहुरेहरू घर र्फकंदा आफ्नो टोलको आमा समूहलाई चार-पाँच हजार चन्दा दिने गरेको पनि पाइन्छ । मैदान आमा समूहकी अध्यक्ष लक्ष्मी बस्नेत भन्छिन्, 'हामी त गाउँमा कसैको बिहे भयो भने रत्यौली पनि खेल्न जान्छौं र त्यसबापत आएको रुपैयाँ समूहमा राख्छौं ।' समूहमा जम्मा भएको रकम सदस्यहरू आफ्नो कमाइ ठान्छन् । उनीहरूको सक्रियता, लगनशीलता र प्रभावकारिताबाट प्रभावित भएर अन्तर्राष्ट्रीय गैरसरकारी संस्थाहरूको ध्यान जान थालेको छ । दातृ राष्ट्रद्वारा सञ्चालित कामहरू दिगो नहुने यथार्थका कारण उनीहरू आमा समूहरूको कामप्रति आकषिर्त भएको कुरा मैदान आमा समूहकी अध्यक्ष लक्ष्मी बताउँछिन् । (सञ्चारिका लेखमाला/सञ्चारिका समूह)