Thursday, September 29, 2016

लुम्बिनी-कपिलवस्तु उत्खननः के खोजेको?

दाता पाइयो भन्दैमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको उत्खनन गर्नैपर्छ भन्ने हुँदैन।

- बसन्त महर्जन

नेपालमा पुरातात्विक अध्ययन तथा उत्खननको शुरुआत सन् १८९५ मा निग्लिहवा (कपिलवस्तु) र अर्को वर्ष लुम्बिनीमा अभिलेखसहितको अशोक स्तम्भ प्राप्तिलाई मान्नुपर्छ। यी दुवै प्राप्तिको श्रेय जर्मन पुरातत्वविद् डा. ए. फूहररलाई दिने गरिएको छ। वास्तवमा, फूहररले 'चान्स डिस्कभरी' को रुपमा ती प्राप्ति गरेका थिए। र, नेपालको पुरातात्विक अध्ययन–अनुसन्धान 'चान्स डिस्कभरी' भन्दा अघि बढेको विरलै पाइन्छ।
निग्लिहवास्थित अशोक स्तम्भको कमै चर्चा हुने गरेको छ, जुन सर्वप्रथम भारतका मेजर जसकरण सिंहले देखेका थिए। तिलौराकोटबाट केही किलोमिटर उत्तरमा एउटा पाषाण स्तम्भ रहेको भनेर उनैले दिएको सूचनाको आधारमा डा. फूहरर निग्लिहवा पुगेका थिए। त्यही स्तम्भमा रहेको अभिलेखबाट सो स्थल प्राचीन कपिलवस्तु भनेर यकिन भएको थियो। बौद्ध वाङ्मय र चिनियाँ यात्रीद्वय फाहियान र ह्वेनसाङको यात्रा विवरणमा त्यसको पूर्वतिर लुम्बिनी हुनुपर्ने उल्लेख थियो। त्यही आधारमा फूहरर निग्लिहवाबाट लुम्बिनीको खोजीमा पूर्व लागेका थिए।
अहिले बुद्ध जन्मस्थल भनेर विश्वले चिनेको लुम्बिनी त्यसबेला घना जंगल थियो। भारतमा रेल–वे विस्तारको लागि त्यही जंगलबाट काठ निकासी हुन्थ्यो। फूहरर लुम्बिनी पुग्नुुभन्दाअघि रुख कटानमा संलग्न मजदूर र फिल्ड मार्सल खड्गशमशेरले अशोक स्तम्भ देखेका थिए। जंगल बीचमा शिलास्तम्भ देखेर अचम्म मानेका खड्गशमशेरले त्यसलाई उखेल्ने प्रयत्न गरिरहेकै बखत फूहरर त्यहाँ पुगेका थिए। त्यस्तो पुरातात्विक महत्वको स्तम्भलाई यथास्थानमा सुरक्षित राख्नुपर्ने कुरा बुझाउनु र बुद्धको जन्मस्थल भेटिएको समाचार विश्वलाई दिनु डा. फूहररको योगदान हो।
नेपाल सरहदभित्र कपिलवस्तु र लुम्बिनी भेटिएपछि भारतको गोरखपुर र वस्ती जिल्ला वरिपरि भइरहेको बुद्ध जन्मस्थलको खोजी स्थगित भयो। लुम्बिनी र कपिलवस्तुको प्राप्ति पछि पनि थुप्रै अध्ययन–अनुसन्धान र उत्खनन भइसकेका छन्। डुर्हाम विश्वविद्यालयले पछिल्लो उत्खनन गरेर दिएको बुद्ध जन्मस्थलमा पहिला मन्दिर रहेको जानकारी कुनै नौलो र आश्चर्यको कुरा थिएन, मायादेवीले यक्षसँग सम्बन्धित पूजास्थल भएको रुखमुनि सिद्धार्थलाई जन्म दिएकीले। गैर–वैदिक समाजमा यक्षको पूजा गर्ने प्रचलन रहेकोले त्यहाँ पूजास्थल हुनु अनौठो कुरा होइन।
कपिलवस्तु क्षेत्रमा उत्खननका क्रममा भेटिएका 'पोष्ट होल' हरूको प्रसंगले निकै चर्चा पाएको देखियो। ती 'होल' हरू भवन बनाउन काठ वा बाँस गाड्दाका हुन् भन्ने कुरा नेपाली पुरातत्वविद् बाबुकृष्ण रिजाल नेतृत्वको उत्खनन पछि स्पष्ट भइसकेको विषय हो। तिलौराकोट आसपासका जमीनमा गरिएको जिओसर्भेले त्यहाँ फराकिला बाटा र दायाँबायाँ घरहरूको अवशेष रहेको बताएको थियो। त्यो अध्ययनपछि गौतम बुद्ध जन्मनुभन्दा अघि नै त्यस क्षेत्रमा वस्ती विकास भइसकेको प्रचार–प्रसार गरियो।
जबकि, बुद्धभन्दा अघि नै कपिलवस्तु समृद्ध राजधानी र व्यापारिक केन्द्र रहेको जनपद थियो भन्ने विवरण बौद्ध वाड्मयहरूमा पाइन्छन्। यस्तो लाग्छ, पुरातात्विक उत्खनन वा गतिविधिको उपलब्धि भनेको पुरानै कुराको पुनरावृत्ति वा पुष्टि मात्रै हो।
त्यसमाथि, लुम्बिनी र कपिलवस्तुमा गरिएका प्रायः पुरातात्विक उत्खननहरू नेपाल सरकारको बजेटबाट भएको पाइँदैन। विदेशी संघ–संस्था र दातृ निकायहरूको रुचि अनुसार भइरहेका उत्खनन्मा नेपालले दृष्टि साक्षी बस्ने काम मात्र गरिरहेको छ। उत्खननका दौरान हुने पुरातत्व सम्बन्धी विद्यार्थीको संलग्नतामा पनि नेपालीलाई भन्दा विदेशीलाई प्राथमिकता दिइन्छ। यसमा अनुभव के रह्यो भने, नेपाली विद्यार्थी देखाउने र विदेशी विद्यार्थी चपाउने दाँत हुन्।
त्यसो त, लुम्बिनी र कपिलवस्तुमा हिजोआज हुने गरेका उत्खननको उद्देश्य नै स्पष्ट छैन। उत्खननहरूले बुद्धको जन्मस्थल र उनको गृहनगर खोजेको हो भने सो कुरा पहिल्यै सिद्ध भइसकेको छ। बुद्ध नेपालमै जन्मेका हुन् भनेर थप प्रमाणित गर्न खोजिएको हो भने सिद्ध भइसकेको कुरामा थप कति प्रमाण चाहिन्छ, टुंगो हुन्न। उत्खननबाट पुरावशेष नभई धर्म खोजेको हो भने बौद्ध धर्म जमीन मुनि होइन, पुस्तकहरूमा संग्रहित उपदेश र त्यस अनुसारको जीवनयापनमा पाइन्छ।
(हिमाल साप्ताहिक खबरपत्रिकाः ५-११ भदाै २०७३)

खादा बहिष्कारः यस्तो पनि राष्ट्रवाद !

आफ्नो सांस्कृतिक बिरासत नै नबुझी ‘राष्ट्रवादी’ बन्ने सोच खादा बहिस्कारमा देखिएको छ ।

-- बसन्त महर्जन
विभिन्न सभा–समारोह तथा शुभअवसरका अतिथिलाई लगाइने खादा पछिल्ला वर्षहरूमा लोकप्रियताकै कारण चर्चामा थियो । अहिले पुनः यो चर्चामा छ, तर अर्कै कारणले । हाम्रा संस्कृति मन्त्रालयका सचिवलगायत केही राजनीतिकर्मीहरूलाई लागेछ, खादा लगाएर स्वागत गर्नु विदेशी संस्कृति हो, तसर्थ बहिस्कार गर्नुपर्छ ।
औपचारिक निर्णय नै गरेर खादालाई प्रतिबन्धित गर्ने परिपत्र जारी भएको सुन्दा संस्कृतिप्रेमीहरूलाई निको लाग्ने कुरै भएन । उनीहरूले बिरोध गरेपछि संस्कृति मन्त्री जीवनबहादुर शाहीले प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको सुनिएको छ । खादा बहिस्कार प्रकरणको अध्ययन गर्दा हाम्रा उच्चपदस्थहरूमा साँस्कृतिक विचलन आएको स्पष्ट देखिन्छ । विदेशी संस्कृति र उत्पादनलाई निरुत्साहित पार्न खादा बहिस्कार गर्ने यस्तो ‘राष्ट्रवादी’ सोचले नेपालको ऐतिहासिक, साँस्कृतिक, धार्मिक बिषेशताको अनादर गरेको प्रतीत हुन्छ ।
शुरुमा नेपाली कांग्रेस चितवन जिल्ला शाखा र त्यसपछि केही स्थानीय निकायहरूले आइन्दा आफ्ना कार्यक्रमहरूमा खादा प्रयोग बहिष्कार गर्ने निर्णय गरेको समाचार पढ्दा खासै पत्यार लागेको थिएन । तर, त्यसलगत्तै गम्छाको प्रयोग बढेको टेलिभिजनहरूमा देखिन थाल्यो, खासगरि मन्त्री आमन्त्रीत कार्यक्रमहरूमा । तराई–मधेशको दैनिक जीवनमा प्रचलित ‘गम्छा’ र विशेष अवसर वा धार्मिक कार्यमा चलाईने ‘खादा’ उस्तै–उस्तै देखिएपनि प्रयोग र अर्थका दृष्टिले भिन्न छ ।
पहिले नेपाली, अहिले नेपाली 
खादा ‘बहिस्कार’ गर्न पछिल्लो समय प्रयोगमा ल्याईएको ढाकाको गम्छालाई काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजमा ‘खातागा’ भनिन्छ । बहिस्कारवादीहरूले चाही यसलाई ‘नेपाली खादा’ भन्न थालेका
छन् । उनीहरू ‘नेपाली खादा’ प्रचलनमा ल्याएर ‘विदेश खादा’लाई लखेट्ने ‘राष्ट्रवादी’ सोचबाट प्रेरित भएको प्रष्टै छ । नेवार, तामाङ, शेर्पा, गुरुङलगायतका वौद्वमार्गी समुदायका अगुवाहरू भने खादा बचाउन दौडधुप गरिरहेको बुझ्न्छि । बौद्ध संस्कृतिले पाएको व्यापकता रोक्न ‘राष्ट्रवादी’ हरूले खादा बहिष्कार अभियान चलाएको चिन्ता उनीहरूमा पाइन्छ । हुनपनि, ‘राष्ट्रवादी’ हुने लहर देशमा चलेको छ ।
वास्तविकता चाही के हो भने, खादाकोे प्रयोग सामान्यतः तिब्बती चलनजस्तो देखिएपनि यो मुल रुपमा नेपाली संस्कृति हो । नेपाली बौद्ध समुदायमा धार्मिक कार्य, शुभकार्य र अन्य शुभ अवसरमा अतिथिलाई खादा लगाइदिने परम्परा छ । पहिले यसलाई ‘खातागा’ भनिन्थ्यो र कपडाकै हुने भएकोले अलि खस्रो र भद्दा पनि हुन्थ्यो । हाम्रो त्यही ‘खातागा’ तिब्बतमा पुगेर ‘खादा’को रुपमा व्यापकता पाउँने क्रममा ‘सिल्की’ हुन पुग्यो । त्यसरी तिब्बतीकरण हुँदा अष्टमंगलका प्रतीक र बौद्धमन्त्र ‘ओम मणि पद्मे हुँ’ पनि छापिन थाले ।
अब प्रश्न उठ्छ– विदेशमा बढी लोकप्रिय हुनपुगेको कुनै पनि स्वदेशी संस्कृति वा वस्तुलाई पराया भनेर त्याग्दै जाने हो भने नेपालीले आफ्नो मौलिक वा गौरव भनी देखाउन बाँकी के रहला ? काठमाडौंको ‘पौभाः’ चित्रकला तिब्बत पुगेर ‘थाङ्का’ भयो, आज यही नामले विश्वप्रशिद्व छ । तिब्बतीहरूले नेपालीसँग यो कला सिकेर उतै बनाउन थाल्नु अघि ‘पौभाः’ चित्र काठमाडौंबाटै तिब्बत निर्यात हुन्थ्यो । आफ्नो मौलिक कलासंस्कृतिको स्वामित्व लिएर प्रचार–प्रसार गरी पहिचान बनाउनु पर्नेमा तिनलाई बहिष्कार वा प्रतिवन्धित गर्नु भनेको ‘विनशकाले विपरित बुद्धि’ सिवाय केही होईन । विदेशी शब्दसंगै आपत्ती हो भने बरु थाङ्कालाई पौभा, खादालाई खातागा भनेर वरण गर्नु वुद्विमानी हुन्छ ।
केहीवर्ष अघिसम्म बौद्ध समाजमा सीमित खादा गैर–वौद्व कार्यक्रमहरूमा पनि लोकप्रिय हुनु आफैंमा सुखद कुरा हो । धार्मिक–सांस्कृतिक सहगमनको यो काम सरकार, गैर–सरकारी क्षेत्र वा व्यक्तिहरूले नभई पवित्र खादा आफैंले गरेको हो । सामाजिक सद्भावसँग सम्बन्धित यस्ता कुरामा तर्सनुपर्ने कुनै कारण छैन । यो अनिवार्य पनि छैन । खादा प्रयोग गर्ने परम्परा नभएका वा गर्न नचाहनेले त्यसो नगर्ने हर प्रकारको अधिकार राख्छन् । सरकारी निकायले समाजमा नकारात्मक सन्देश फैलाउने ‘बहिस्कार’ शब्दको प्रयोगसहित औपचारिक निर्णय गरेर परिपत्र गर्नु आपत्तीजनक छ ।
खादा बहिष्कारको औचित्य पुष्टि गर्न चाहनेहरूले यो बढी खर्चिलो भएको भनेको सुनियो । संस्थागत बहिस्कारको समाचार प्रकाशनमा आएपछि तिनै संस्थाहरूको सार्वजनिक कार्यक्रममा खादाको विकल्पमा गम्छाको प्रयोग देखियो । अझ्, पत्रिकामा प्रकाशित तस्वीर नियालेर हेर्दा खादा बहिस्कारलाई प्रभावकारी पार्न गम्छा लगाएको ‘फोटो सेसन’ गराएको देखियो । यो हास्यास्पद मेहनतमा केटौलेपन छ, किनभने खादाको तुलनामा गम्छा महंगो पर्छ ।
(हिमाल साप्ताहिक खबरपत्रिकाः २-८ असाेज २०७३)

महामारीमा नेवार समाज: उहिल्यै पनि‌ ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !

महामारीमा नेवार समाज: उहिल्यै पनि‌ ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे ! : अहिले चर्चामा रहेका ‘क्वारेन्टिन’, ‘आइसोलेसन’ र ‘लकडाउन’ जस्ता ...