Basanta Maharjan
Writer-Researcher-Archaeologist-Buddhist Scholar
Thursday, May 14, 2020
महामारीमा नेवार समाज: उहिल्यै पनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !
महामारीमा नेवार समाज: उहिल्यै पनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !: अहिले चर्चामा रहेका ‘क्वारेन्टिन’, ‘आइसोलेसन’ र ‘लकडाउन’ जस्ता शब्द नयाँ भए पनि यसको प्रयोग नेपालको नेवार समाजका लागि नौलो हाेइन।
Wednesday, April 05, 2017
आफै नाङ्गिएको मान्छेलार्इ नियाल्दा
-- बसन्त महर्जन
लेखन क्षेत्रमा पनि अनेकौं ‘टर्मिनोलोजी’हरु हुन्छन् र सम्बद्धहरु ती शब्दसँग अभ्यस्त हुनुपर्छ । साथीभाइको निश्चित समूहमा मात्र सीमित शब्द पनि हुन्छन् जसको अर्थ अन्य समूहमा लाग्दैन । हालै एउटा यस्तै शब्द सुन्नमा आयोे– ‘साभार लेख लेखेर’ । यो ‘साभार लेख लेखेर’को अर्थ खुल्दैन, समूहभन्दा इतरको भएर हुनसक्छ पटक्कै बुझिनँ । अन्तै लेखिएको लेख उपयुक्त लाग्यो भने जस्ताको तस्तै लेखक र पत्रिकाको नाम उल्लेख गरी पुनःप्रकाशन गरिएकोलाई ‘साभार लेख’ भनिन्छ । यही अर्थमा हुर्केको मलाई यही शब्दले मेरै उपर झटारो हानेका कारण यसमा गम्नै पर्ने भयो । र, यसको अन्तर्य खोतल्दा अन्य कुराहरु पनि दृष्टिगोचर हुन पुग्यो ।
गत हप्ता रन्जना लिपिसम्बन्धी नभएर रन्जना लिपिप्रतिको दृष्टिकोणका सम्बन्धमा एउटा सानो टिप्पणी लेख प्रकाशित भएको थियो । लेखमा रन्जना लिपि इसाको बाह्राैं शताब्दीमा नेपालमा प्रचलनमा आएको र नेपालमा नै यसको परिमार्जन भई व्यापकता पाएको कुरा परेको थियो । कसैकसैमा यसको उत्पत्ति हजारौं हजार वर्षअघि नेपालमा नै भएको भन्ने भ्रम रहेछ । नेपालमा प्रचलिन रन्जना लिपिको पूर्वरुप भारतमा पाइएको हुँदा यसको उत्पत्ति उतैतिर भएको र नेपालमा परिमार्जित वर्तमान रुप लिएको मान्यता प्राज्ञिक क्षेत्रमा छ । त्यो मान्यतामा मेरो आफ्नो बेग्लै धारणा छैन । वर्तमान रन्जना लिपिको पूर्व रुपको अभिलेख भारतमा आफैले पनि पढिसकेको हुँदा ‘यो लिपि हजारौं हजार वर्षअघि नेपालमा उत्पत्ति भएको र नेवार जातिको लिपि हो’ भन्ने परम्परागत मान्यता मेरो लागि अर्थहीन छ । लेखमा उल्लेखित ‘भारतमा जन्मेर नेपालमा हुर्केको रन्जना लिपि’ भन्ने शब्दकै आधारमा ममाथि आक्षेप सुरु भयो । भावनाको कुरा हो, आफ्नो ठाउँमा आफै सही होला । तर यसरी लेखेर हिँड्दा समाजबाट बहिष्कृत हुनसक्ने चेतावनी मात्रै आएन, चेतावनीमा समर्थन पनि आयो । अनेकौं आक्षेप र टिप्पणीमा एकले ‘साभार लेख लेखेर’ शब्द प्रयोग गरी यसरी पनि लेख्न भ्याए– ‘‘बसन्तले साभार लेख लेखेर आफूलाई बौद्ध विद्धान कहलाउन खोजेको धेरै भइसक्यो । अहिले त उहाँ नाङ्गििनु भयो ।’’
‘साभार लेख लेखेर’ शब्दको प्रयोग गर्ने व्यक्ति नेपालभाषामा आधा दर्जनभन्दा बढी उपन्यास प्रकाशनमा ल्याइसकेका, एउटा साप्ताहिक पत्रिकाको प्रकाशन तथा सम्पादनमा संलग्न र नेवार जातीय संघसंस्थाहरुमा आवद्ध भईआएका हुन् । अरु त अरु, उनको थर पनि ‘महर्जन’ मात्रै नभएर त्यो लेखक र यो लेखक दुबैको थातथलो एउटै (कीर्तिपुर) हो । नाम के हो त ? जिज्ञासा हुनु स्वाभाविक हो । तर त्यो नाम यहाँ उल्लेख गर्न आवश्यक नठान्नुको कारण हो, त्यो नाम मात्रै नभएर प्रवृत्ति नै हुनु ।
‘साभार लेख लेखेर’ भन्ने ती लेखकको म पाठक होइन । उनको पहिलो उपन्यास पढेको थिएँ, करीब तीन दशकअघि । मन परेन । अन्य प्रकाशनमा त वास्ता नै भएन । कारण, दायाँबायाँको कुरा थाहा पाउँदा स्पष्ट भइसकेको थियो, पढ्नै पर्ने र नपढ्दा घाटा हुने खालका ती होइनन् । उनीसँग व्यक्तिगत रुपमा केही सम्बन्ध छैन । म हुर्कदै गरेको समयमा ती व्यक्ति साहित्यिकलगायत कुनै पनि गतिविधिमा देखिँनँ, पछि थाहा भएअनुसार कामको सिलसिलामा काठमाडौं बाहिर थिए । नेवार समुदायकै एउटा साहित्यिक कार्यक्रममा मलाई पनि निमन्त्रणा पत्र आउनु पर्ने थियो तर हात परेन । कार्यक्रममा म उपस्थित हुनु पर्नाको कारण हो, त्यहाँ वाचन गर्नेमा म पनि थिएँ, अझ वाचन गर्नेहरुको नाम निमन्त्रणा पत्रमा उल्लेख थियो । यो जनाउ आयोजकलाई दिंदा यिनै व्यक्तिमार्फत पठाएको भन्ने थाहा लाग्यो र हस्तान्तरण गरिसकेको भन्न पनि भ्याएछन् । त्यो बेलासम्म हाम्रो चिनापर्ची थिएन । बाटोमा देख्दा मात्र होइन, विभिन्न कार्यक्रममा भेटिँदा पनि वास्तापास्ता हुनसकेन । भनिन्छ, फस्ट इन्प्रेशन इन लास्ट इम्प्रेशन, संभवतः यही ‘इम्प्रेशन’ले काम ग¥यो । एकपल्ट एउटा उपन्याससम्बन्धी कार्यक्रममा उनी मेरो नजिक आएर भोलि वा केही दिनपछि उनैको एउटा उपन्यास विमोचन कार्यक्रममा डाके । गइनँ, यसले पनि असर गर्यो होला ।
प्रगति वा राम्रो कामको थालनीमा शुभचिन्तकहरुको शुभकामना आउनु स्वाभाविक हो । साथसाथै अर्कोतर्फ इष्र्या, द्वेष र अमङ्गल कामना पनि हुनथाल्छन् । पीठ पछाडि अनेकौं कुरा पनि काट्छन् । ‘विश्वभूमि’ नामक एउटा दैनिक पत्रिकामा रिपोर्टर भएर पस्दा शुभकामना दिनेहरु मात्रै थिएनन्, बोलिचाली बन्द गर्ने र तर्केर जाने दुईचार जना पनि पाइए । त्यही पत्रिकामा कार्यकारी सम्पादक पनि भएछु । कुनै बेला त्यहीं सहकर्मी बनेका एक मित्र कार्यालयमा टुपुल्किए र पहिलाजस्तै हार्दिकताका साथ कुराकानी भयो । कार्यकारी सम्पादक भइसकेको उनलाई हेक्का रहेनछ । भन्दा पनि पत्याएनन् । पत्रिकाको ‘प्रेसलाइन’मा नाम देखेर उनी झस्के हुन् । अनुहार हेर्न लायकको बन्यो र खुरुखुरु बाहिर निस्किए । ‘विश्वभूमि’ पछि ‘स्पेशटाइम दैनिक’मा सम्बद्ध भएँ । उही समूहको ‘स्पेशटाइम’ नेटवर्क पनि थियो । स्पेशटाइम दैनिकमा सम्वद्ध हुँदा एक परिचित ‘कवि’लाई यतिसम्मको असर परेको थियो कि, आफ्नो मन सन्तुष्ट राख्नलाई मात्र भएपनि पत्रिकामा होइन, नेटवर्कमा टेक्निसियन वा प्रशासनमा जागीर खान गएको भन्ने भ्रम पालेन मात्रै, फैलाउने प्रयास पनि गरे ।
म अाठ नाै वर्षको उमेरमा थिएँ, बुबाले घर चलाउन पसल थाप्नु भयो । बडो मेहनत गरेर बुबाले पसललाई विस्तार गर्दै लानु भयो । पछि चल्तीको ठाउँमा अलि रामै्रसँग अर्को पनि पसल थाप्नु भयो । र, बाटोमा हिडिरहेको हाम्रो एक छिमेकी बुबालाई देखेर पसलमा पसेछन् र पसल अरुको होइन भनेर थाहा पाएपछि निस्केछन् । कति टाढासम्म पुगेर हो कुन्नी, फेरि सँगैको पसलमा पसेर सोधेछन्– त्यो पसल उसै (मेरो बुबा) को हो ?
इर्ष्या, जलन, द्वेषजन्य घटनाको फेहरिस्त लामो नै बन्छ । र, यस्ता फेहरिस्त नभएका मान्छे को होला र ? यस्तै फेहरिस्तमा ‘साभार लेख लेखेर’ भन्ने अभिव्यक्तिलाई पनि राख्न गर्न सकिन्छ ।
‘साभार लेख लेखेर’ भन्नुको अर्को अर्थ चोरीको आरोप पो हो कि ? यो पक्का हो कि, धेरै लेख लेख्नेमा म पनि पर्दछु । लेख्नु मेरो ‘प्यासन’ पनि हो । आफूसँग भएकै विषयवस्तु, आफ्नै खोजअनुसन्धानलाई नै लेख्न नभ्याइरहेकोे अवस्थामा अर्काको कुरा किन चोरेर हिड्नु पर्यो ? यो यो विषयमा यसरी लेख्दा हुन्छ भनेर विषयवस्तुहरु अरुलाई दिँदै हिड्नेलाई चोरीका आरोप सुनेर रमाइलो पनि लाग्यो । पूर्व प्रकाशित लेखरचना तथा पुस्तकको ‘साइटेशन’लाई नै ‘साभार लेख लेखेर’ भनेको हो भने गम्भीर समस्या भएको छ, किनभने उनी प्राज्ञिक भनिएको एउटा नेवार संस्थाका ‘प्राज्ञ’ पनि हुन् । ‘आफूलाई बौद्ध विद्धान कहलाउन खोजेको धेरै भइसक्यो’ भन्नुको अर्थ बौद्ध विषयवस्तुमा लेख्दै गरेको जानकारी उनमा रहेछ । जुन क्षेत्रमा रुची भयो त्यही क्षेत्रमा लागेर केही योगदान गर्नुमा के आपत्ती ? मेरो क्षेत्र अध्ययन, अनुसन्धान र लेखन भएकाले गच्छेअनुसार यही माध्यम अपनाउनु स्वाभाविक हो । बौद्ध विषयवस्तुमा लेख्नु पर्ने हुन्छ, लेखिन्छ र पढ्नेहरु आफैले मूल्याङ्कन गरेर जे भन्नु पर्ने हो भनिदिन्छन् । यो चाहेर र इष्र्या गरेर मात्रै प्राप्त हुने कुरा होइन । ‘... धेरै भइसक्यो’ भन्नुको अर्थ हो, यस क्षेत्रमा जे जति गरें, धेरै भइसक्यो । अनेकौं विषयमा लेख्ने क्रममा आजभोलि बौद्ध धर्म, दर्शन र इतिहासमा केन्द्रित छु । यही विषयमा गरेका कामहरु कति नै प्रकाशनमा आएका छन् र ? सबै काम प्रकाशनमा ल्याउने हो भने उनी अहिल्यै पनि यसलाई असामान्य ठान्दाहुन् । आआफ्नो योजना हुन्छ, बौद्ध विषयवस्तु बाहेक अरु त प्रकाशमा ल्याएकै छैन, तत्काल ल्याइँने योजना छैन पनि । फेरि अर्को रमाइलो शब्द हो ‘... अहिले त उहाँ नाङ्गिनु भयो ।' यी लेखकले ‘धेरै’ लेखेको भनेपनि जहाँसम्म लाग्छ, तीमध्ये थोरै पनि पढेका छैनन् । पढेका हुँदो हो, उनको मनस्थिति यस्तो हुँदैनथ्यो ।
नकारात्मक धारण वा इष्र्या, द्वेष वा कुन्ठा कहिलेदेखिको हो उनै जानून् तर रन्जना लिपिको प्रसंग आउँदासाथ एक्कासी छताछुल्ल हुनपुग्यो । अभिव्यक्त भएको ठाउँ पनि यस्तो कुन्ठाग्रष्ट मान्छेको छायाँमा भएको छ, जसको पहिचान नै छैन । कुनै बेला फेसबुकमा साथी थिएछौं हामी, र मान्छेको नाम थिएछ, न्यूजमाण्डौं नेपाल । हाल उक्त नाम पनि परिवर्तन भइसकेको छ । गैरजिम्मेवार पोस्ट र चलन देखेर आफ्नोबाट हटाउँदा फेरि फेरि मित्रताको अनुरोध आएको थियो र वास्ता नगरेपछि नकारात्मक बनेको पाइयो । त्यस्तो प्रवृत्तिका पछि लाग्ने क्रममा ती लेखक, प्राज्ञ, उपन्यासकार आफै नाङ्गिएका छन्, आफ्नो एउटै वाक्यमा ।
Tuesday, December 13, 2016
भिस्वा स्तूपः वीरगंजलाई अवसर
हालै राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगंज पुगेर यो शहरलाई पोखरा र लुम्बिनीजस्तै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गरिन्। राष्ट्रपतिबाट केका आधारमा वीरगंजलाई पर्यटकस्थल बनाउने भन्ने उल्लेख नभए पनि पर्यटन उद्योगका लागि एउटै धार्मिक स्थल काफी हुनसक्ने सन्दर्भमा यो आलेखमा बौद्धविश्वका लागि अति महत्वपूर्ण भिस्वा स्तूपको चर्चा गरिन्छ। देशका अन्य शहरमा जस्तै आन्तरिक पर्यटकका लागि रुचिकर हुने अनेकौं स्थल रहेको वीरगंजमा रहेको भिस्वा स्तूपलाई अन्तर्राष्ट्रिय आकर्षणको रूपमा प्रवर्द्धन गर्न सकिन्छ।
राजधानी काठमाडौंबाट १८३ किलोमिटर दक्षिणमा भारतीय सीमा नजिकै रहेको वीरगंज शहरको नयाँ बसपार्कबाट पूर्वपट्टि बाइपास रोड छेउमा अवस्थित भिस्वा स्तूप मौर्यसम्राट अशोकले निर्माण गरेको भनिन्छ। यसको ऐतिहासिक पुष्टि हुन भने बाँकी नै छ। समथर भूमिमा रहेको माटोको थुप्रोले उहिल्यैदेखि ध्यानाकर्षण गर्दै आए पनि यहाँ २०४४ सालबाट बौद्ध गतिविधि हुन थालेको हो। त्यसपछि नै हो, स्थानीयवासीले यहाँ बौद्ध प्रस्तर मूर्तिहरू राखेर चारैतिर वृक्षरोपण पनि गर्न थालेको। पुरातात्विक अवशेषहरू असरल्ल अवस्थामा देखिने भिस्वा स्तूपको विशाल संरचना हेर्दा संरक्षणका लागि अधिग्रहण गरिएको जमीन अपुग देखिन्छ।
राजधानी काठमाडौंबाट १८३ किलोमिटर दक्षिणमा भारतीय सीमा नजिकै रहेको वीरगंज शहरको नयाँ बसपार्कबाट पूर्वपट्टि बाइपास रोड छेउमा अवस्थित भिस्वा स्तूप मौर्यसम्राट अशोकले निर्माण गरेको भनिन्छ। यसको ऐतिहासिक पुष्टि हुन भने बाँकी नै छ। समथर भूमिमा रहेको माटोको थुप्रोले उहिल्यैदेखि ध्यानाकर्षण गर्दै आए पनि यहाँ २०४४ सालबाट बौद्ध गतिविधि हुन थालेको हो। त्यसपछि नै हो, स्थानीयवासीले यहाँ बौद्ध प्रस्तर मूर्तिहरू राखेर चारैतिर वृक्षरोपण पनि गर्न थालेको। पुरातात्विक अवशेषहरू असरल्ल अवस्थामा देखिने भिस्वा स्तूपको विशाल संरचना हेर्दा संरक्षणका लागि अधिग्रहण गरिएको जमीन अपुग देखिन्छ।
यतिकै भरमा यसलाई ऐतिहासिक बौद्ध सम्पदा भनेर विश्वको ध्यानाकर्षण गर्न भने सकिन्न। त्यसको लागि यो स्तूपको बहुआयामिक अध्ययन–अनुसन्धान गर्नुपर्ने हुन्छ। केही नभएको ठाउँमा त विविध आकर्षण निर्माण गरेर विश्व पर्यटक भित्र्याइएको छ भने वीरगंजमा भिस्वा स्तूपको ऐतिहासिक तथा पुरातात्विक अध्ययन–अनुसन्धान तथा प्रचार–प्रसार गरेर सजिलै पर्यटन प्रवर्द्धन गर्न सकिन्छ। भारतको पर्यटन उद्योगमा बोधगया, सारनाथ, कुशीनगर, नालन्दा, राजगीर, वैशाली, श्रावस्तीजस्ता बौद्ध सम्पदाहरू कोसेढुङ्गा साबित भएका छन् भने बुद्धको जन्मस्थल लुम्बिनी नजिकै यही कोटिमा गणना हुनसक्ने अत्यधिक संभावना रहेको भिस्वा स्तूपमा यो काम गर्न नसकिने प्रश्नै छैन।
भिस्वा स्तूप रहेको वीरगंज वरिपरिका ठाउँहरू बौद्ध सभ्यताको केन्द्र हुन्। बौद्ध पुरातात्विक अवशेषहरू संरक्षित ती स्थलहरू विश्व पर्यटनस्थलका रूपमा रहेका छन्। पुरातात्विक स्थलहरू जति देखिएका छन्, यति नै हुन् भन्न मिल्दैन। केही दशकअघि भारतकै विहारमा केसरिया स्तूप भेटियो, जसको संरक्षणको काम अहिले दु्रत गतिमा भइरहेको छ। विहार राज्य सरकारले केसरिया स्तूपको संरक्षण तथा सम्वर्द्धनमा विशेष नीति लिएर काम गरिरहेको छ, विना प्रचार। कार्य सम्पन्न भएपछि एकै पटक विश्वलाई आश्चर्यचकित पार्ने उसको रणनीति देखिन्छ। अब नेपालले पनि यहीबेला केसरियाबाट नजिकै रहेको भिस्वा स्तूपको उत्खनन् थाल्नुपर्छ। उत्खनन्का क्रममा यसको निर्माणकाल त पत्ता लाग्छ नै, साथै अन्य कुराहरू पनि प्राप्त हुन्छ र विविध पक्ष उजागर हुन्छ।
विश्वका पर्यटकलाई 'बुद्धिस्ट सर्किट' मा घुमाउने व्यवसायीहरू नेपाल र भारत दुवै देशमा छन्। तर, यो 'सर्किट' मा नेपालका थोरै मात्र बौद्धस्थलहरू समेटिएकोले हामीले अपेक्षित लाभ लिन सकिरहेका छैनौं। यो अवस्थामा भोलि लुम्बिनीबाट 'बुद्धिस्ट सर्किट' को यात्रा शुरू गरेर भारतका विभिन्न बौद्ध स्थलहरू घुमाई भिस्वा स्तूप दर्शनको लागि वीरगंज ल्याउन सकिन्छ। अथवा वीरगंजबाटै यात्रा शुरू गरेर लुम्बिनीमा टुंग्याउने गरेर अधिकतम फाइदा लिन सकिन्छ।
नेपालका पुरातात्विक उत्खनन् अध्ययन–अनुसन्धानमै सीमित हुने गरेका छन्। उत्खनन्पछि संरक्षणका साथ प्रदर्शनमा राख्न नसकी फेरि पुर्नुको एउटा कारण बजेट अभाव पनि हो। बजेट अभावमा कतिपय उत्खनन् कार्य बीचैमा छाड्ने गरिएको छ। तर, वीरगंज उपमहानगरपालिकाले चाह्यो भने स्तूप उत्खनन् गर्ने आर्थिकभार बहन क्षमता ऊ आफैंसँग छ। उपमहानगरपालिकाले पुरातत्व विभागसँग समन्वय गरेर यो काम अगाडि बढाउन सक्छ।
सम्पदा क्षेत्रमा वीरगंजले गर्न सक्ने यस्तो लगानीबाट पूरा देशलाई फाइदा पुग्नसक्छ। फाइदाको ठूलो हिस्सासँगै उदाहरण बनेको जस पाउने पनि वीरगंज नै हुन्छ।
हिमाल । २६ मंसीर- २ पुस २०७३
हिमाल । २६ मंसीर- २ पुस २०७३
सबैभन्दा ठूलाे थाङ्काः रेकर्डको लोभ मात्र
विश्वको सबभन्दा सानो, ठूलो, ढिलो, चाँडो, होचो, अग्लो जस्ता रेकर्ड तोड्ने होडबाजीले पनि संसारका मान्छेहरूलाई सक्रिय बनाइरहेको हुन्छ। जापानमा विश्वकै ठूलो थाङ्का बनाएर हालै काठमाडौं, लुम्बिनी र कपिलवस्तुमा प्रदर्शनीमा राखिएको घटनालाई यसै कोटिमा राख्न सकिन्छ। विश्वको सबभन्दा सानो र सर्वाधिक ठूलो बुद्ध मूर्ति वा स्तूपजस्ता रेकर्डमा अब थाङ्का पनि जोडिएको छ। नितान्त बौद्ध आस्थासँग जोडिएका यी विश्व रेकर्डको प्रयोजन भने चिन्तनशून्य अवस्थामा छ।
नेपाल–जापान कूटनीतिक सम्बन्धले ६० वर्ष पूरा गरेको अवसरमा विशाल थाङ्का बनाएर प्रदर्शन गरेको आयोजकहरूको भनाइ छ। ७० मिटर लम्बाइ र ५० मिटर चौडाइको थाङ्का आफैंमा कौतूहलको विषय हो नै। केही वर्षअघि काठमाडौंको दशरथ रंगशालामा प्रदर्शन गरेर धेरैलाई आश्चर्यमा पारेको यो थाङ्काको रमिता गत हप्ता दोस्रो पटक देखाइयो। भनिए अनुसार, सन् १९९४ मा जापान गएका नेपाल बौद्ध संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले युसुतादा कातागिरिसँग मिलेर यो थाङ्का बनाउन थालेका थिए। ६ वर्ष
लगाएर बनाइएको यो थाङ्कामा सात हजार वर्गमिटर कपडा प्रयोग भएको छ। ८१ टुक्रा कपडालाई ३२ सयवटा जिपरले जोडेर बनाइएको थाङ्कामा नेपाल र जापानबाहेक अमेरिका, कम्बोडिया, दक्षिण कोरियालगायत १६ मुलुकका १० हजारभन्दा बढी कलाकारको मिहिनेत परेको छ।
बुद्ध धर्मका अनेक प्रभावशाली भिक्षुमध्ये एक ऋद्धिवान् भिक्षु मौद्गल्यायन थिए। ती भिक्षु आफ्नो ऋद्धिबलले स्वर्ग र नर्कमा पनि धर्मोपदेश दिएर फर्कने गरेको विवरण बौद्ध साहित्यमा पाइन्छ। एकपटक त्यस्तै यात्राबाट फर्केका मौद्गल्यायनलाई भगवान बुद्धले आफूले देखेका कुराहरू अन्य भिक्षुका साथै जनसाधारणले पनि बुझ्ने गरी भित्तामा चित्रांकन गर्न आग्रह गरे। त्यसरी विहारको भित्तामा 'भवचक्र' तयार भयो भनिन्छ। बौद्ध जगतमा 'प्रतीत्यसमुत्पाद दर्शन' पनि भनिने यो चित्रको ठूलो महत्व छ। प्रतीत्यसमुत्पाद नबुझ्ोसम्म बौद्ध दर्शनको मर्म नबुझिने मान्यता छ।
भवचक्र जस्तै बुद्धको मुहारचित्र पनि बुद्धको जीवनकालमै उतारेको प्रसंग पाइन्छ। बौद्ध चित्रकलाको विकासक्रममा काठमाडौं उपत्यकामा बिलंपौ (पटचित्र) भनिने 'स्क्रोल पेन्टिङ' शुरू भयो। यसमा कुनै बौद्ध कथावस्तुको सचित्र वर्णन हुन्छ। कम चौडाइको लामो कपडामा बनाइने बिलंपौ पर्व विशेषमा हिजोआज पनि इतुंबहालको केशचन्द्र पारावत महाविहार र ठमेलको विक्रमशील महाविहारमा प्रदर्शनीमा राखिन्छ। भित्तेचित्रलाई एकबाट अर्को ठाउँमा सार्न सकिन्न तर बिलंपौ (पटचित्र) जस्तै गोलो मुठा पारेर सजिलै बोक्न मिल्ने र एउटै कपडाको टुक्रामा सम्पूर्ण कुरा व्यक्त गर्न सकिने गरी काठमाडौंमा चित्रकलाको विकास भयो। कोठाको भित्तामा टाँग्न र यताउता लैजान पनि सहज हुने यो चित्रकला तिब्बती बौद्ध समाजमा पनि लोकप्रिय हुन पुग्यो। काठमाडौंमा 'पौभाः' भनिने यो चित्रकलाको तिब्बती नाम 'थाङ्का' अहिले विश्वप्रसिद्ध छ।
यसबाट के बुझिन्छ भने, विश्व बौद्ध जगतका लागि नेपालको देन हो– 'थाङ्का'। तिब्बतमा यसको बढ्दो मागलाई ध्यानमा राखेर काठमाडौंबाट नेपाली कलाकारहरू 'पौभाः' वा 'थाङ्का' बनाउने प्रशिक्षण दिन जान्थे वा तिब्बती कलाकारहरू यसैको प्रशिक्षणका लागि काठमाडौं आउँथे। विषयवस्तु र मौलिकता उही भए पनि रंग प्रयोगको आधारमा 'थाङ्का' लाई नेपाली वा तिब्बती भनेर छुट्याउन सकिने लैनसिंह बाड्देलले उल्लेख गरेका छन्। उनका अनुसार, नेपाली थाङ्का कलाकारहरू हल्का र उज्यालो रंग प्रयोग गर्छन् भने तिब्बतीहरू गाढा रंग रुचाउँछन्।
हिजोआज घरको बैठक कोठादेखि होटल, रेस्टुरेन्ट र कार्यालयहरूसम्म थाङ्का झ्ाुन्ड्याएको देखिनुले यो चित्रकलाको लोकप्रियता झल्काउँछ। बौद्ध साधकहरू भने यसलाई साधनाको एउटा माध्यम मान्छन्। जसरी जन्म र मृत्युको कार्यकारणलाई भवचक्र (प्रतीत्यसमुत्पाद दर्शन) द्वारा सजिलै प्रष्ट्याइन्छ त्यसरी नै दर्शनका अन्य पक्षहरूलाई थाङ्कामा दर्शाइन्छ। जुन दर्शनको साधना गर्ने हो सोही अनुसार थाङ्का रोजिन्छ।
अब चर्चा विश्वको सबभन्दा ठूलो भनिएको थाङ्काकै गरौं जसलाई भित्तामा झुन्ड्याउन सकिन्न। सार्वजनिक प्रदर्शनीमा राख्दा पनि त्यसलाई चौरमा बिछ्याउनु परेको छ। बुद्धको जन्मदेखि महापरिनिर्वाणसम्मका क्षणहरू चित्रित यो विशाल थाङ्का नियाल्न कि अग्लो ठाउँमा उक्लिनुपर्छ कि त हेलिकप्टरमा सवार हुनुपर्छ। प्रदर्शनीमा आउनेहरू चाहिं 'विश्वकै ठूलो रे' भन्दै सर्सर्ती एकछेउ हेरेर फर्केका थिए। बुझ्न खोज्नेलाई प्रदर्शनस्थलमा बाँडिएको परिचय पुस्तिकामा छापिएको त्यसैको सानो प्रतिलिपिले मात्रै सघायो। यो त 'संसारको सबभन्दा ठूलो सारंगी' भनेजस्तै भयो, जुन बजाउन मिल्दैन।
'गिनिज बूक अफ वर्ल्ड रेकर्डस्' लाई दुस्साहसी, जोखिमप्रेमी र सन्कीहरूको संकलन पनि भन्ने गरिन्छ, जसमा अर्थ न बर्थको तमासा देखाउनेहरू पनि दर्ता हुन्छन्। बौद्ध धर्म वा आस्थालाई दुई देशबीचको दौत्य सम्बन्धसँग समेत जोडेर त्यति धेरै समय, श्रम र खर्चबाट गरिएको काम भने त्योभन्दा फरक हुने अपेक्षा गरिन्छ।
१९-२५ मंसीर २०७३ । हिमाल
१९-२५ मंसीर २०७३ । हिमाल
बौद्ध होइन खास्तिचैत्य
- बसन्त महर्जन
'बौद्ध' शब्द नामवाचक नभएर विशेषण हो। यसले 'बुद्धसम्बन्धी' भन्ने अर्थ दिन्छ। तर किन हो, काठमाडौंस्थित इतिहासप्रसिद्ध चैत्यको नाम 'बौद्धस्तूप' भनेर चलाइएको छ। स्थानीय नेपाल भाषाको खास्तिचैत्यलाई ओझ्ेलमा पारेर आजभोलि 'बौद्धस्तूप' र सो अवस्थित क्षेत्रलाई पनि बौद्ध भन्ने गरिएको छ। 'स्तूप' भन्नु नै 'बौद्ध वास्तुकला' हो र तिनका छुट्टाछुट्टै नाम हुन्छन् भनेर बुझने हो भने 'बौद्धस्तूप' नामले यो भव्य सम्पदालाई बेनाम बनाइदिएको छ।
'बौद्ध' शब्द नामवाचक नभएर विशेषण हो। यसले 'बुद्धसम्बन्धी' भन्ने अर्थ दिन्छ। तर किन हो, काठमाडौंस्थित इतिहासप्रसिद्ध चैत्यको नाम 'बौद्धस्तूप' भनेर चलाइएको छ। स्थानीय नेपाल भाषाको खास्तिचैत्यलाई ओझ्ेलमा पारेर आजभोलि 'बौद्धस्तूप' र सो अवस्थित क्षेत्रलाई पनि बौद्ध भन्ने गरिएको छ। 'स्तूप' भन्नु नै 'बौद्ध वास्तुकला' हो र तिनका छुट्टाछुट्टै नाम हुन्छन् भनेर बुझने हो भने 'बौद्धस्तूप' नामले यो भव्य सम्पदालाई बेनाम बनाइदिएको छ।
वैशाख २०७२ को महाभूकम्पले क्षतिग्रष्त बनाइदिएको यो सम्पदाको पुनःनिर्माण, प्राणप्रतिष्ठा र औपचारिक उद्घाटन समेत भइसकेको छ। भूकम्पपछिको पुनःनिर्माणमा सबभन्दा पहिला सकिएको 'बौद्धस्तूप' नै हो, त्यो पनि सरकारको एकपैसा लगानी विना। समुदायबाटै संकलित रु.२३ करोडले गतिलो पुनःनिर्माण हुनसकेबाट पनि अहिले यो चर्चामा छ। पुनःनिर्माण अभियान र प्रशंसाका बीच स्तूपका सम्बन्धमा व्यक्त उत्सुकता–प्रश्नहरूमा पनि किम्बदन्तीमा सीमित जवाफ दिनु–पाउनु भने नमज्जाको विषय हुन पुग्यो। बौद्ध समुदाय पनि किम्बदन्तीमै सन्तुष्ट देखिनु र अरूले पनि तिनै कुरालाई उद्धृत गरी काम चलाइरहेबाट हाम्रो इतिहासचेतको सतहीपना झ्ल्काइरहेको छ।
किम्बदन्तीको जञ्जाल
यस स्तूपलाई तिब्बती प्रभावमा 'ज्यारुङ खस्योर' भन्ने गरेको पनि पाइन्छ। ज्याजिमा नामकी महिलालाई स्तूप बनाउन राजाले जग्गा दिने वचन दिएको तर अन्यले विरोध गर्दा राजाको बोली खसिसकेको भन्दाभन्दै 'खस्योर' हुन गएको भन्ने कथा सुन्न पाइन्छ। जबकि, 'ज्याजिमा' व्यक्तिको नाम नभएर 'कुखुरा पाल्ने महिला' भन्ने अर्थ लाग्छ, तिब्बती भाषामा। त्यसकारण, 'खस्यो' शब्दबाट 'खस्योर' भयो भन्नुमा कुनै तथ्य–तर्क देखिंदैन। फेरि, 'खस्यो' भन्ने नेपाली शब्द यस क्षेत्रमा धेरैपछि मात्रै भित्रिएको हो।
यस स्तूपलाई तिब्बती प्रभावमा 'ज्यारुङ खस्योर' भन्ने गरेको पनि पाइन्छ। ज्याजिमा नामकी महिलालाई स्तूप बनाउन राजाले जग्गा दिने वचन दिएको तर अन्यले विरोध गर्दा राजाको बोली खसिसकेको भन्दाभन्दै 'खस्योर' हुन गएको भन्ने कथा सुन्न पाइन्छ। जबकि, 'ज्याजिमा' व्यक्तिको नाम नभएर 'कुखुरा पाल्ने महिला' भन्ने अर्थ लाग्छ, तिब्बती भाषामा। त्यसकारण, 'खस्यो' शब्दबाट 'खस्योर' भयो भन्नुमा कुनै तथ्य–तर्क देखिंदैन। फेरि, 'खस्यो' भन्ने नेपाली शब्द यस क्षेत्रमा धेरैपछि मात्रै भित्रिएको हो।
नेपालको ऐतिहासिक स्रोतको रूपमा लिने गरिएको गोपाल राजवंशावलीमा 'खास्तिचैत्य' को स्पष्ट उल्लेख छ। नेपालको सबैभन्दा पहिलो गोपाल राजवंशावलीको पत्र २१ मा 'राजा श्रीशिवदेव ... तेन प्रतिष्ठित विहारग्रभकृतम् खासौचेत महाकूटम' अर्थात् राजा श्री शिवदेवले विहारभित्र ठूलो खासौचैत्य बनाए भनिएको छ। नेपालसम्वत् ७९८ को एउटा ठ्यासफूमा पनि 'खासोचैत्य' भनिएबाट खासौ, खासो र खास्ति एउटै शब्दका विभिन्न रूप भन्ने बुझिन्छ। यही शब्दको तिब्बतीकरण हुँदा 'खस्योर' हुन पुग्यो। राजा अंशुवर्माका मामा पर्ने राजा शिवदेव बौद्ध धर्मबाट प्रभावित भएको र पछि राजपाट छाडेर भिक्षु भई विहारमा प्रव्रजित जीवन बिताउन गएको कुरा इतिहाससिद्ध छ। यस हिसाबले खास्तिचैत्यको निर्माणकाल इस्वीको सातौं शताब्दीको पहिलो दशक हुनआउँछ। राजा शिवदेवले खास्तिचैत्य बनाएको भन्ने स्पष्ट भएपछि स्तूपसँग जोडिएर आउने गरेका ज्याजिमा लगायतका किम्बदन्तीहरू रोचक कथा मात्र हुन्।
वंशावली अनुसार राजा शिवदेवले खास्तिचैत्य विहारभित्र बनाइएको हो। अब प्रश्न उठ्छ, विहारको नाम र अस्तित्व। 'श्रीशिवदेवविहार' नाम उल्लेख भएका दुई वटा अभिलेख प्राप्त छन्। सम्वत् १०३ (पछि प्रचलनबाट हराएको तत्कालीन सम्वत्) मा राजा नरेन्द्रदेवद्वारा जारी भएका ती दुई अभिलेखमा एउटै व्यहोरा रहेको छ जसअनुसार विहारलाई अनेकौं अधिकारहरू दिइएका छन्। पशुपति क्षेत्रका ढुंगेधाराहरूको हेरचाह गर्न पाशुपत सम्प्रदायका धार्मिक संघहरू हुँदाहुँदै यसै विहारलाई अभिभारा दिएको आधारमा इतिहासकार धनबज्र बज्राचार्यले यो विहार अन्यत्र नभई पशुपति क्षेत्रमै हुनुपर्ने अनुमान गरेका छन्, जुन सही लाग्छ। किनभने, पहिलो त खास्तिचैत्य पशुपति क्षेत्रमै पर्छ। राजकीय विहार भएका कारण यो ठूलो हुनु स्वाभाविक पनि हो। विहार परिसर वा अधीन क्षेत्रमा स्तूप बनाएको अर्थ लगाउँदा गोपाल राजवंशावलीमा भएको विवरण अझ् स्पष्ट हुन आउँछ। तर पछि यो विहारको क्षेत्रफल साँघुरिनुका साथै अर्कै नाममा चिनियो वा मासियो थाहा हुन सकेन।
राजा शिवदेवभन्दा अघिदेखि नै तिब्बतसँग नेपालको सम्बन्ध भए पनि पछिल्ला दिनहरूमा जस्तो दरिलो थिएन। गुप्तहरूबाट पुर्ख्यौली राजगद्दी फिर्ता लिन तिब्बती सेनाको सहयोग लिएकाले लिच्छवि राजा नरेन्द्रदेवको शासनकालमा नेपालमा तिब्बती प्रभाव धेरै बढेको थियो। तिब्बतीहरू आउँदा बस्ने क्षेत्रको रूपमा खास्ति विकास भएकोले खास्तिस्तूप तिब्बतमा प्रसिद्ध हुन पुग्यो। साथै अनेक कथा–उपकथा जोडिंदै गए। तिब्बती बौद्ध धर्म–संस्कृतिसँग सम्बन्ध राख्नेहरूका लागि अहिले पनि यो प्रमुख क्षेत्रकै रूपमा छ र पुराना कथा–उपकथाहरू जारी छन्।
धर्मसँग सम्बन्धित कुरामा मिथक सिर्जनालाई मानवीय स्वभाव भन्न सकिन्छ, तर त्यसमाथि ऐतिहासिक दृष्टिले हेर्न हिच्किचाउनुहुँदैन। इतिहासले जनविश्वासमाथि आघात पार्न सक्छ भन्दै इतिहास अध्ययनमा उदासीन हुनु बौद्ध समाजलाई सुहाउँदैन। गौतम बुद्ध, रिम्पोचे पद्मसंभव किम्बदन्तीका पात्र नभई ऐतिहासिक हुन्। बौद्ध इतिहासको अध्ययनमा तिनीहरूको अध्ययन जति भए पनि श्रद्धामा कमी आएको पाइँदैन बरु थप विश्वस्त हुँदै गएको पाइन्छ। त्यस्तै हो खास्तिचैत्यको कुरा पनि, जसलाई मिथकहरूले छोपेर राख्नुभन्दा इतिहासलाई स्वीकारेर थप अध्ययनको बाटो लिनुमा बुद्धिमत्ता छ।
हिमाल । १२-१८ मंसीर २०७३
Thursday, September 29, 2016
लुम्बिनी-कपिलवस्तु उत्खननः के खोजेको?
दाता पाइयो भन्दैमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको उत्खनन गर्नैपर्छ भन्ने हुँदैन।
- बसन्त महर्जन
नेपालमा पुरातात्विक अध्ययन तथा उत्खननको शुरुआत सन् १८९५ मा निग्लिहवा (कपिलवस्तु) र अर्को वर्ष लुम्बिनीमा अभिलेखसहितको अशोक स्तम्भ प्राप्तिलाई मान्नुपर्छ। यी दुवै प्राप्तिको श्रेय जर्मन पुरातत्वविद् डा. ए. फूहररलाई दिने गरिएको छ। वास्तवमा, फूहररले 'चान्स डिस्कभरी' को रुपमा ती प्राप्ति गरेका थिए। र, नेपालको पुरातात्विक अध्ययन–अनुसन्धान 'चान्स डिस्कभरी' भन्दा अघि बढेको विरलै पाइन्छ।
निग्लिहवास्थित अशोक स्तम्भको कमै चर्चा हुने गरेको छ, जुन सर्वप्रथम भारतका मेजर जसकरण सिंहले देखेका थिए। तिलौराकोटबाट केही किलोमिटर उत्तरमा एउटा पाषाण स्तम्भ रहेको भनेर उनैले दिएको सूचनाको आधारमा डा. फूहरर निग्लिहवा पुगेका थिए। त्यही स्तम्भमा रहेको अभिलेखबाट सो स्थल प्राचीन कपिलवस्तु भनेर यकिन भएको थियो। बौद्ध वाङ्मय र चिनियाँ यात्रीद्वय फाहियान र ह्वेनसाङको यात्रा विवरणमा त्यसको पूर्वतिर लुम्बिनी हुनुपर्ने उल्लेख थियो। त्यही आधारमा फूहरर निग्लिहवाबाट लुम्बिनीको खोजीमा पूर्व लागेका थिए।
निग्लिहवास्थित अशोक स्तम्भको कमै चर्चा हुने गरेको छ, जुन सर्वप्रथम भारतका मेजर जसकरण सिंहले देखेका थिए। तिलौराकोटबाट केही किलोमिटर उत्तरमा एउटा पाषाण स्तम्भ रहेको भनेर उनैले दिएको सूचनाको आधारमा डा. फूहरर निग्लिहवा पुगेका थिए। त्यही स्तम्भमा रहेको अभिलेखबाट सो स्थल प्राचीन कपिलवस्तु भनेर यकिन भएको थियो। बौद्ध वाङ्मय र चिनियाँ यात्रीद्वय फाहियान र ह्वेनसाङको यात्रा विवरणमा त्यसको पूर्वतिर लुम्बिनी हुनुपर्ने उल्लेख थियो। त्यही आधारमा फूहरर निग्लिहवाबाट लुम्बिनीको खोजीमा पूर्व लागेका थिए।
अहिले बुद्ध जन्मस्थल भनेर विश्वले चिनेको लुम्बिनी त्यसबेला घना जंगल थियो। भारतमा रेल–वे विस्तारको लागि त्यही जंगलबाट काठ निकासी हुन्थ्यो। फूहरर लुम्बिनी पुग्नुुभन्दाअघि रुख कटानमा संलग्न मजदूर र फिल्ड मार्सल खड्गशमशेरले अशोक स्तम्भ देखेका थिए। जंगल बीचमा शिलास्तम्भ देखेर अचम्म मानेका खड्गशमशेरले त्यसलाई उखेल्ने प्रयत्न गरिरहेकै बखत फूहरर त्यहाँ पुगेका थिए। त्यस्तो पुरातात्विक महत्वको स्तम्भलाई यथास्थानमा सुरक्षित राख्नुपर्ने कुरा बुझाउनु र बुद्धको जन्मस्थल भेटिएको समाचार विश्वलाई दिनु डा. फूहररको योगदान हो।
नेपाल सरहदभित्र कपिलवस्तु र लुम्बिनी भेटिएपछि भारतको गोरखपुर र वस्ती जिल्ला वरिपरि भइरहेको बुद्ध जन्मस्थलको खोजी स्थगित भयो। लुम्बिनी र कपिलवस्तुको प्राप्ति पछि पनि थुप्रै अध्ययन–अनुसन्धान र उत्खनन भइसकेका छन्। डुर्हाम विश्वविद्यालयले पछिल्लो उत्खनन गरेर दिएको बुद्ध जन्मस्थलमा पहिला मन्दिर रहेको जानकारी कुनै नौलो र आश्चर्यको कुरा थिएन, मायादेवीले यक्षसँग सम्बन्धित पूजास्थल भएको रुखमुनि सिद्धार्थलाई जन्म दिएकीले। गैर–वैदिक समाजमा यक्षको पूजा गर्ने प्रचलन रहेकोले त्यहाँ पूजास्थल हुनु अनौठो कुरा होइन।
कपिलवस्तु क्षेत्रमा उत्खननका क्रममा भेटिएका 'पोष्ट होल' हरूको प्रसंगले निकै चर्चा पाएको देखियो। ती 'होल' हरू भवन बनाउन काठ वा बाँस गाड्दाका हुन् भन्ने कुरा नेपाली पुरातत्वविद् बाबुकृष्ण रिजाल नेतृत्वको उत्खनन पछि स्पष्ट भइसकेको विषय हो। तिलौराकोट आसपासका जमीनमा गरिएको जिओसर्भेले त्यहाँ फराकिला बाटा र दायाँबायाँ घरहरूको अवशेष रहेको बताएको थियो। त्यो अध्ययनपछि गौतम बुद्ध जन्मनुभन्दा अघि नै त्यस क्षेत्रमा वस्ती विकास भइसकेको प्रचार–प्रसार गरियो।
जबकि, बुद्धभन्दा अघि नै कपिलवस्तु समृद्ध राजधानी र व्यापारिक केन्द्र रहेको जनपद थियो भन्ने विवरण बौद्ध वाड्मयहरूमा पाइन्छन्। यस्तो लाग्छ, पुरातात्विक उत्खनन वा गतिविधिको उपलब्धि भनेको पुरानै कुराको पुनरावृत्ति वा पुष्टि मात्रै हो।
त्यसमाथि, लुम्बिनी र कपिलवस्तुमा गरिएका प्रायः पुरातात्विक उत्खननहरू नेपाल सरकारको बजेटबाट भएको पाइँदैन। विदेशी संघ–संस्था र दातृ निकायहरूको रुचि अनुसार भइरहेका उत्खनन्मा नेपालले दृष्टि साक्षी बस्ने काम मात्र गरिरहेको छ। उत्खननका दौरान हुने पुरातत्व सम्बन्धी विद्यार्थीको संलग्नतामा पनि नेपालीलाई भन्दा विदेशीलाई प्राथमिकता दिइन्छ। यसमा अनुभव के रह्यो भने, नेपाली विद्यार्थी देखाउने र विदेशी विद्यार्थी चपाउने दाँत हुन्।
त्यसो त, लुम्बिनी र कपिलवस्तुमा हिजोआज हुने गरेका उत्खननको उद्देश्य नै स्पष्ट छैन। उत्खननहरूले बुद्धको जन्मस्थल र उनको गृहनगर खोजेको हो भने सो कुरा पहिल्यै सिद्ध भइसकेको छ। बुद्ध नेपालमै जन्मेका हुन् भनेर थप प्रमाणित गर्न खोजिएको हो भने सिद्ध भइसकेको कुरामा थप कति प्रमाण चाहिन्छ, टुंगो हुन्न। उत्खननबाट पुरावशेष नभई धर्म खोजेको हो भने बौद्ध धर्म जमीन मुनि होइन, पुस्तकहरूमा संग्रहित उपदेश र त्यस अनुसारको जीवनयापनमा पाइन्छ।
(हिमाल साप्ताहिक खबरपत्रिकाः ५-११ भदाै २०७३)
(हिमाल साप्ताहिक खबरपत्रिकाः ५-११ भदाै २०७३)
खादा बहिष्कारः यस्तो पनि राष्ट्रवाद !
आफ्नो सांस्कृतिक बिरासत नै नबुझी ‘राष्ट्रवादी’ बन्ने सोच खादा बहिस्कारमा देखिएको छ ।
-- बसन्त महर्जनविभिन्न सभा–समारोह तथा शुभअवसरका अतिथिलाई लगाइने खादा पछिल्ला वर्षहरूमा लोकप्रियताकै कारण चर्चामा थियो । अहिले पुनः यो चर्चामा छ, तर अर्कै कारणले । हाम्रा संस्कृति मन्त्रालयका सचिवलगायत केही राजनीतिकर्मीहरूलाई लागेछ, खादा लगाएर स्वागत गर्नु विदेशी संस्कृति हो, तसर्थ बहिस्कार गर्नुपर्छ ।
औपचारिक निर्णय नै गरेर खादालाई प्रतिबन्धित गर्ने परिपत्र जारी भएको सुन्दा संस्कृतिप्रेमीहरूलाई निको लाग्ने कुरै भएन । उनीहरूले बिरोध गरेपछि संस्कृति मन्त्री जीवनबहादुर शाहीले प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको सुनिएको छ । खादा बहिस्कार प्रकरणको अध्ययन गर्दा हाम्रा उच्चपदस्थहरूमा साँस्कृतिक विचलन आएको स्पष्ट देखिन्छ । विदेशी संस्कृति र उत्पादनलाई निरुत्साहित पार्न खादा बहिस्कार गर्ने यस्तो ‘राष्ट्रवादी’ सोचले नेपालको ऐतिहासिक, साँस्कृतिक, धार्मिक बिषेशताको अनादर गरेको प्रतीत हुन्छ ।
शुरुमा नेपाली कांग्रेस चितवन जिल्ला शाखा र त्यसपछि केही स्थानीय निकायहरूले आइन्दा आफ्ना कार्यक्रमहरूमा खादा प्रयोग बहिष्कार गर्ने निर्णय गरेको समाचार पढ्दा खासै पत्यार लागेको थिएन । तर, त्यसलगत्तै गम्छाको प्रयोग बढेको टेलिभिजनहरूमा देखिन थाल्यो, खासगरि मन्त्री आमन्त्रीत कार्यक्रमहरूमा । तराई–मधेशको दैनिक जीवनमा प्रचलित ‘गम्छा’ र विशेष अवसर वा धार्मिक कार्यमा चलाईने ‘खादा’ उस्तै–उस्तै देखिएपनि प्रयोग र अर्थका दृष्टिले भिन्न छ ।
पहिले नेपाली, अहिले नेपाली
खादा ‘बहिस्कार’ गर्न पछिल्लो समय प्रयोगमा ल्याईएको ढाकाको गम्छालाई काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजमा ‘खातागा’ भनिन्छ । बहिस्कारवादीहरूले चाही यसलाई ‘नेपाली खादा’ भन्न थालेका
छन् । उनीहरू ‘नेपाली खादा’ प्रचलनमा ल्याएर ‘विदेश खादा’लाई लखेट्ने ‘राष्ट्रवादी’ सोचबाट प्रेरित भएको प्रष्टै छ । नेवार, तामाङ, शेर्पा, गुरुङलगायतका वौद्वमार्गी समुदायका अगुवाहरू भने खादा बचाउन दौडधुप गरिरहेको बुझ्न्छि । बौद्ध संस्कृतिले पाएको व्यापकता रोक्न ‘राष्ट्रवादी’ हरूले खादा बहिष्कार अभियान चलाएको चिन्ता उनीहरूमा पाइन्छ । हुनपनि, ‘राष्ट्रवादी’ हुने लहर देशमा चलेको छ ।खादा ‘बहिस्कार’ गर्न पछिल्लो समय प्रयोगमा ल्याईएको ढाकाको गम्छालाई काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजमा ‘खातागा’ भनिन्छ । बहिस्कारवादीहरूले चाही यसलाई ‘नेपाली खादा’ भन्न थालेका
वास्तविकता चाही के हो भने, खादाकोे प्रयोग सामान्यतः तिब्बती चलनजस्तो देखिएपनि यो मुल रुपमा नेपाली संस्कृति हो । नेपाली बौद्ध समुदायमा धार्मिक कार्य, शुभकार्य र अन्य शुभ अवसरमा अतिथिलाई खादा लगाइदिने परम्परा छ । पहिले यसलाई ‘खातागा’ भनिन्थ्यो र कपडाकै हुने भएकोले अलि खस्रो र भद्दा पनि हुन्थ्यो । हाम्रो त्यही ‘खातागा’ तिब्बतमा पुगेर ‘खादा’को रुपमा व्यापकता पाउँने क्रममा ‘सिल्की’ हुन पुग्यो । त्यसरी तिब्बतीकरण हुँदा अष्टमंगलका प्रतीक र बौद्धमन्त्र ‘ओम मणि पद्मे हुँ’ पनि छापिन थाले ।
अब प्रश्न उठ्छ– विदेशमा बढी लोकप्रिय हुनपुगेको कुनै पनि स्वदेशी संस्कृति वा वस्तुलाई पराया भनेर त्याग्दै जाने हो भने नेपालीले आफ्नो मौलिक वा गौरव भनी देखाउन बाँकी के रहला ? काठमाडौंको ‘पौभाः’ चित्रकला तिब्बत पुगेर ‘थाङ्का’ भयो, आज यही नामले विश्वप्रशिद्व छ । तिब्बतीहरूले नेपालीसँग यो कला सिकेर उतै बनाउन थाल्नु अघि ‘पौभाः’ चित्र काठमाडौंबाटै तिब्बत निर्यात हुन्थ्यो । आफ्नो मौलिक कलासंस्कृतिको स्वामित्व लिएर प्रचार–प्रसार गरी पहिचान बनाउनु पर्नेमा तिनलाई बहिष्कार वा प्रतिवन्धित गर्नु भनेको ‘विनशकाले विपरित बुद्धि’ सिवाय केही होईन । विदेशी शब्दसंगै आपत्ती हो भने बरु थाङ्कालाई पौभा, खादालाई खातागा भनेर वरण गर्नु वुद्विमानी हुन्छ ।
केहीवर्ष अघिसम्म बौद्ध समाजमा सीमित खादा गैर–वौद्व कार्यक्रमहरूमा पनि लोकप्रिय हुनु आफैंमा सुखद कुरा हो । धार्मिक–सांस्कृतिक सहगमनको यो काम सरकार, गैर–सरकारी क्षेत्र वा व्यक्तिहरूले नभई पवित्र खादा आफैंले गरेको हो । सामाजिक सद्भावसँग सम्बन्धित यस्ता कुरामा तर्सनुपर्ने कुनै कारण छैन । यो अनिवार्य पनि छैन । खादा प्रयोग गर्ने परम्परा नभएका वा गर्न नचाहनेले त्यसो नगर्ने हर प्रकारको अधिकार राख्छन् । सरकारी निकायले समाजमा नकारात्मक सन्देश फैलाउने ‘बहिस्कार’ शब्दको प्रयोगसहित औपचारिक निर्णय गरेर परिपत्र गर्नु आपत्तीजनक छ ।
खादा बहिष्कारको औचित्य पुष्टि गर्न चाहनेहरूले यो बढी खर्चिलो भएको भनेको सुनियो । संस्थागत बहिस्कारको समाचार प्रकाशनमा आएपछि तिनै संस्थाहरूको सार्वजनिक कार्यक्रममा खादाको विकल्पमा गम्छाको प्रयोग देखियो । अझ्, पत्रिकामा प्रकाशित तस्वीर नियालेर हेर्दा खादा बहिस्कारलाई प्रभावकारी पार्न गम्छा लगाएको ‘फोटो सेसन’ गराएको देखियो । यो हास्यास्पद मेहनतमा केटौलेपन छ, किनभने खादाको तुलनामा गम्छा महंगो पर्छ ।
(हिमाल साप्ताहिक खबरपत्रिकाः २-८ असाेज २०७३)
Sunday, September 02, 2012
जुत्तामा बुद्ध आकृति र बौद्धहरूको क्षमाशीलता
- बसन्त महर्जन
एक अमेरिकी जुत्ता कम्पनीले डिजायन गरेको र आफ्नो ‘वेभसाइट’बाट सार्वजनिक गरेको गौतम बुद्धको आकृति अंकित जुत्ता अहिले आलोचना र छलफलको विषय बनेको छ । उक्त डिजायनले बुद्धको अपमान गरेको त हुँदै हो साथसाथै यसले आफ्नो क्षुद्रताको पनि प्रदर्शनी ग-यो । कम्पनीलाई पनि राम्रैसँग हेक्का होला, यस्ता उत्पादनहरू मास प्रडक्शनमा जाँदैन । बुद्धको मानमर्दन गर्न चाहनेहरूले आत्मतुष्टिका लागि केही उत्पादन गर्ला र त्यस्तै खालका कुत्सित मनसाय भएकाहरूले किन्ला तर तिनीहरू खुल्लमखु्ल्ला आउन सक्दैनन् । तिनीहरूले भौतिक रूपमा जुत्ताको उत्पादन कार्य थाल्यो वा थालेन भन्ने कुरा त स्पष्ट छैन तर यस प्रकरणमा तिब्बत, श्रीलंकालगायतका बौद्ध मुलुकहरूले सरोकार देखाउँदै आफ्नै तरिकाले विरोध जनाएपछि अन्नतः कम्पनिले सो जुत्ता उत्पादन नगर्ने भइसकेको छ । कम्पनीले आफ्नो वेभसाइटबाट सो तस्वीर हटाइसकेको छ । तर पनि यस विषयमा छलफल गर्नु भने नितान्त जरुरी देखिन्छ ।
जुत्तामा बुद्धको आकृति अंकित गरिएको यो पहिलो घटना भने होइन । बेला बेलामा यस्ता घटनाहरू हुँदै गरेको पाइन्छ । कहिले जुत्तामा त कहिले अन्डरवेयरमा बुद्धको तस्वीर अंकित गरेर वस्तु उत्पादन गरेको पाइन्छ । यसरी नै महिलाले प्रयोग गर्ने ‘ब्रा’ मा बुद्धको तस्वीर अंकित गरेर वस्तु उत्पादन गर्दा पनि विरोध भएको थियो । जुत्ता, अन्डरवेयर, ब्रा आदिमा बुद्धको तस्वीर अंकित गर्नु आपत्तीजनक हो । बौद्धहरूले दैनिक रूपमा पालना गर्नु पर्ने पञ्चशीललाई नै धज्जी उडाउने गरी रक्सीको ब्रान्ड वा बारको नाम नै बुद्धको नामबाट राख्न पनि खोजेको पाइन्छ । बुद्ध नेपालमा जन्मेको भनेर गौरव मान्ने देश नेपालमा नै पनि कहिले रक्सीको विज्ञापनमा बुद्ध राखेर प्रकाशित गरिन्छ त कहिले अपव्याख्या गरेर अपमान गर्ने गरिन्छ तर नेपाली मिडियाको पहुँच विश्वसँग नभएका कारण विरोधको स्तर ठूलो हुन पाउँदैन । नेपाली बौद्धहरूमा रहेको क्षमा वा सहनशीलताले पनि यसलाई ठूलो रूप दिँदैन र कुरा सामसुम भएर जान्छ । जुत्तामा बुद्धको आकृति राखिएको भनेर आपत्ती जनाइरहेकै बेला नेपालकै राष्ट्रिय स्तरका ‘ब्रोड सीट’ पत्रिकाहरूमा रक्सीको विज्ञापनमा बुद्धको तस्वीर राखेर आफ्नो कुत्सीत भावना पोखेको आलै छ । यस्तो घटना अन्य धर्मसम्प्रदायलाई चिढाउने गरी गरेको पाइन्छ । मोहम्मद पैगम्वरलाई कार्टून बनाएर पत्रिकामा छापेका कारण आक्रोशित इस्लामहरूले पत्रिकाको कार्यालय नै ध्वष्ट पार्नुका साथै कार्टुनिष्ट र सम्पादकमाथि पनि घातक हमला गर्न पुगेको घटना पुरानो भएको छैन । त्यस देशको एउटा राजदूतावासमाथि बम आक्रमण गरेर असन्तुष्टि व्यक्त गरेको घटनाले यो कति सम्बेदनशील विषय हो भन्ने कुरा छर्लंङ्ग पार्दछ । कहीं जीसस क्राइकको अपमान गरेको पाइन्छ त कहीं पैगम्वरको । यसरी नै हिन्दू धर्मका देवदेवीहरूका चित्रको पनि बेलाबेलामा दुरूपयोग गर्ने गरिन्छ । प्रत्येकपल्ट सम्वन्धित धर्मावलम्बीहरूलाई दुःखित पारिन्छ र प्रतिकृयामा विध्वंशक घटना पनि हुने गर्दछ ।
बुद्धको अपमान वर्तमानमा मात्रै नभएर स्वयं बुद्धको जीवनकालमा नै पनि हुन्थ्यो । जातिवादमा आधारित तत्कालीन सामाजिक संरचनाका विरुद्ध बुद्धले एक प्रकारले जिहाद नै छेडे । आफ्नो संघमा उनले सर्वजातलाई खुल्ला प्रवेश मात्रै दिएनन्, जातिवादमाथि कडा शब्दले प्रहार पनि गरे । जन्मका आधारमा शुद्र र जन्मकै आधारमा ब्राम्हण हुन्न बरु कर्मको आधारमा हुन्छ भन्ने धम्मपदको गाथा प्रसिद्ध छ । नाई समुदायबाट आएका भिक्षु उपालिलगायत थुप्रैलाई संघमा निर्वाध प्रवेश दिइएको थियो जसलाई तत्कालीन समाजले तल्लो जात भनी कतिपय ठाउँमा निषेध गरिन्थ्यो । जाति, भाषा, लिंग तथा कतिपय मानवनिर्मित विभेदहरूलाई अस्वीकार गर्नु तत्कालीन समाजका लागि क्रान्तिकारी कदम थियो भने अनित्य, दुःख र अनात्म जस्ता दार्शनिक अवधारणाको स्थापनाले तत्कालीन समाजमा एकप्रकारले भुइँचालो नै ल्याइदिएको थियो । यही भएर कतिपय ‘के निहँ पाउँ कनिका बुक्याउँ’ भनेजस्तो बुद्धलाई गाली गर्न र अपमान गर्न ताक हेरेर बस्थे । कोही बुद्धकै सामुन्ने तथानाम गाली गरेर मानमर्दन गर्न खोज्थे भने कोही पीठ पछाडि । यसरी नै बुद्धका शिष्यहरूको अगाडि बुद्धको निन्दा गर्दथे । क्षमा दिनमा बुद्ध त अद्वितीय भइहाले । कतिपय अवस्थामा आफूमाथि भएको गाली गलौज वा आलोचनाहरूको तर्कपूर्ण जवाफ दिएर विपक्षीलाई चित्त बुझाउँथे भने कतिपय अवस्थामा बुद्ध चुप लागेर बस्थे । देवदहतर्फ जाँदै गर्दा बाटोमा आफ्नै ससुरा सुप्रबुद्धले बुद्धलाई यसरी नै गालीगलौज गर्दा बुद्ध चुपचाप फर्केका थिए । दीघनिकायको प्रसिद्ध ‘ब्रम्हजाल सूत्र’ को पृष्ठभूमि नै बुद्धमाथि विपक्षीको निन्दा हो र उक्त सूत्रमा भिक्षुहरूलाई कस्तो व्यवहार गर्नु पर्दछ भन्ने कुरा सिकाएका थिए ।
बुद्ध आकृति अंकित जुत्ताको प्रकरणपछि उत्पन्न प्रतिकृयाहरू बडो रोचक छन् । प्रकृतिका आधारमा ती प्रतिकृयालाई दुई वर्गमा बाँड्न सकिन्छ । कतिपयले कडा शब्दहरू प्रयोग गरीे आक्रामक शैलीमा मनोभाव प्रकट गरे । विपक्षीहरूलाई आक्रमण गर्न जानू भनेर बुद्धले सिकाएकै छैनन् बरु क्षमाशील हुन र आफ्नो धर्ममा अडिग भएर बस्न भनेका छन् । तसर्थ यस्ता निन्दाहरूलाई बौद्धहरू उपेक्षा गरेर बस्छन् र जुत्ताको प्रकरणमा पनि उपेक्षा गरेरै बसेको पाइयो । स्वदेशमा हुने घटनालाई त चुपचाप सहन्छन् भने विदेशमा हुने घटनालाई सहने त भइहाल्यो । आफू बौद्ध नभएपनि र बुद्धको शिक्षाबारे जानकारी नभएपनि कति धेरै मान्छे बुद्धका प्रशंसक रहेछन् भन्ने कुरा यसबाट पनि बुझियो जसले आक्रामक शैलीमा आलोचना ग¥यो, जवाफमा अर्कै खालका आकृतिहरूको सिर्जना पनि ग¥यो । तर उदेक लाग्दो कुरा यो वर्गको नेपालीहरु नेपालमा नै हुने घटना किन देख्दैनन् ?
नेपाली रूपैया पैसामा बुद्धको आकृति अंकित गरिनु पर्दछ भन्नेहरूको संख्या नेपालमा बाक्लो नै रहेको बुझियो । यस प्रकारको अभियान फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा देखिन्छ । यो अभियानको विपक्षीमा उभिँदा यो लेखकले थुप्रै खालका खप्की खानु परेको थियो । नोटमा बुद्धको तस्वीर राख्ने सोचाइ झट्ट हेर्दा बुद्ध र बौद्धप्रति सम्मान भएपनि वास्तवमा सम्वन्धित पक्षले ठूलो अपमानको रूपमा लिन्छन् भन्ने कुरा यी अभियन्ताहरूले बुझ्न नसकेको पाइयो । रूपैया पैसाको व्यवहार बेग्लै प्रकारले हुने हुन्छ र त्यसमा बुद्धको आकृति हुने हुँदा बुद्धप्रति उचित सम्मान हुँदैन । यही भएर रूपैयापैसामा बुद्धको आकृति अंकित नगरेका हुन् । कुषाणवंशका बौद्ध राजा कनिष्कले आफ्नो मुद्रामा बुद्धको सम्मान गर्दै बुद्धको मुहार राखेको पाइन्छ तर पछि यस्तो कार्य प्रचलनमा आएन । आधुनिक कालमा भूलवश कुनै एक राष्ट्रले आफ्नो मुद्रामा बुद्धको आकृति अंकित गरेको थियो र पछि बौद्धहरूले चित्त दुखाएपछि यथार्थ कुरा बुझेर जम्मै मुद्रा संकलन गरी त्यसलाई स्तूपको रूप दिएर बुद्धप्रतिको सम्मानलाई अक्षुण्ण राखेको थियो । यस प्रकार एक अमेरिकी कम्पनीले बुद्धको तस्वीर राखेर जुत्ता उत्पादन गर्नु र नेपालमा मुद्रा निस्काशन गर्नु अभियान चलाउनुमा आशय फरक भएपनि तात्विक भिन्नता पाइन्न ।
एक कम्पनीले बुद्धको तस्वीर राखेर जुत्ता बनाएको घटनालाई लिएर पूरै अमेरिका र अमेरिकीलाई मुछ्नु हुन्न । बुद्ध धर्मको विस्तार अमेरिकामा दू्रततर गतिमा हुँदैछ । त्यहाँ भिक्षु भिक्षुणीमात्रै नभएर उपासक उपासिकाहरूको संख्या पनि बढ्दो छ । उनीहरू बाबुबाजे बौद्ध भएकै कारण छोरा नाति पनि बौद्ध बनेका होइनन् बरु गहन अध्ययन र चिन्तनको परिणाम हो । बुद्ध धर्मको विकास क्रममा विभिन्न तर विशिष्ट पहिचानहरू देख्न पाइन्छ जस्तो, श्रीलंकलन बुद्धिज्म, तिब्बेतियन बुद्धिज्म, बर्मिज बुद्धिज्म, चाइनिज बुद्धिज्म, कोरियन बुद्धिज्म । अन्यत्रभन्दा भिन्दै प्रकारले काठमाडौंको नेवार समाजमा बज्रयान बौद्ध धर्मको विकास पाइएका कारण त्यसलाई ‘नेवार बुद्धिज्म’ नाम दिइएको छ, यद्यपि नेवार समाजमा अन्य सम्प्रदायको बुद्धिज्म नभएको होइन । अमेरिकामा बौद्ध गतिविधिहरूलाई नियाल्दा उनीहरू पनि आफ्नो छुट्टै पहिचान कायम गर्न उद्यत रहेको र निकट भविष्यमा नै ‘अमेरिकन बुद्धिज्म’ को घोषणा गर्न पृष्ठभूमि बनाइरहेको देखिन्छ । यस्तो महान कार्यमा उद्यत रहेको अमेरिकालाई जुत्ताको प्रकरणमा मुछ्नु भनेको अरु जम्मै कुरालाई भुलेर क्षुद्रतालाई मात्रै देख्नु हुन्छ, जुन समयको अन्तरालमा यत्तिकै बिलाएर जान्छ । (हसना म्यागेजिन)
Sunday, August 05, 2012
कपिलवस्तुमा बौद्ध विहारको बिक्री
बसन्त महर्जन
गौतम बुद्धको गृहनगर कपिलवस्तुस्थित सूर्य शान्ति नाउँको बौद्ध विहार हालै बिक्री भएको समाचारले बौद्ध जगतलार्र्ई झस्काएको छ । बौद्ध विहार क्रय बिक्रय हुने वस्तु होइन तर यो समाचारले त्यस्तै खालको सन्देश दिंदा विकृतिको गन्ध स्पष्ट रुपमा नै आयो र यसबाट बौद्ध जगतलार्ई खिन्न पार्नु स्वाभाविक पनि थियो ।
तिलौराकोट (प्राचीन कपिलवस्तुको मुख्य पुरातात्विक स्थल) बाट ३ किलोमीतर अगाडि सदरमुकाम तौलिहरुवा बजारमा नै पर्ने सो सूर्य शान्ति विहार पन्द्रह वर्षअघि भिक्षु सूर्य मंगलबाट निर्माण गरिएको थियो । नाताले उनी त्यस क्षेत्रका जमिनदार मंगलमान बज्राचार्यका पुत्र हुन् । कसैका लागि त्यो क्षेत्र एउटा व्यापारिक स्थल होला र आर्थिक लाभका दृष्टिले महत्वपूर्ण पनि । यही भएर मुलतः विहार भएपनि कसैका लािग त्यो आर्थिक उपार्जनको कुरा बन्यो । यस सन्दर्भमा अन्य विहारहरु माथि पनि दृष्टि दिनु उपयुक्त हुन्छ ।
सिद्धार्थ गौतमले ई.पू. ५२८ मा बोधगयामा बुद्धत्व प्राप्त गरी सो ज्ञान बाँड्दै हिड्ने क्रममा भिक्षु वा शिष्यको संख्या पनि बढ्दै गयो । तिनीहरुलार्र्ई निश्चित वासस्थान थिएन । निश्चित वासस्थानको अभावमा समस्या त छँदै थियो, त्यसमाथि अन्य मतावलम्बीहरुले खिसी पनि गर्थे । यही भएर एक श्रेष्ठीले निश्चित वासस्थान बनाइदिने सोचेर बुद्धसँग स्वीकृति लिन लगाए । पछि मगध राजा बिम्बिसारले बेलुवनाराम नै दान गरे । यसरी नै श्रावस्तीका प्रसिद्ध सेठ अनाथपिण्डिकले ठूलो धनराशी खर्च गरेर जग्गा प्राप्त गरी त्यसरी नै ठूलो धनराशी लगाई जेतवनाराम विहार निर्माण गरी बुद्ध, धर्म र संघलार्र्ई दान गरे । दानहरुमा विहार दानलार्र्ई उत्तम मानिन्छ । त्यति बेला मात्रै नभएर अहिले पनि सक्नेले विहार बनाई बुद्ध, धर्म र संघको नाममा दान गर्ने गर्दछन् । दान भनेको दान हो, फिर्ता लिने कुरा होइन । तत्कालीन अवस्थामा एक समय महासेठ अनाथपिण्डक व्यापारमा घाटा लागेर पछि हरिकंगाल हुँदा पनि विहारमाथि कहिल्यै आँखा लगाएनन् । उहिले दान गर्न सक्नुलार्र्ई ठूलो बहादुरी मानिन्थ्यो भने अहिले कसैको दान हडपेर व्यक्तिगत सम्पत्ति बनाउन सक्नु वा फिर्ता लिनुलार्र्ई बहादुरी वा प्रभावशाली मान्ने प्रवृत्ति छ । दानदातव्यबाट काठमाडौं बागबजारस्थित बुद्ध विहारको निर्माण भएको थियो । उक्त विहारका भिक्षु सुमंगल महास्थविरले दानदातव्यबाट अन्य चलअचल सम्पत्ति पनि जोड्नु भएको थियो । तर उहाँको दिवंगत पछि ती सम्पत्तिमाथि दावी गर्दै उहाँको भाइले कानूनी कारवाही चलाए । ती सम्पत्ति संघको नाममा दर्ता भएको थिएन । व्यक्तिको नाममा नै रहेको कारण यसरी परिवारले दावी गर्ने हिम्मत जुटाएका थिए । त्यति बेला वौद्ध समुदायले विहार एउटा बाहेक अन्य सबै सम्पत्ति भाइलार्र्ई दिएर समस्या समाधान गर्नु परेको थियो ।
भिक्षु सूर्य मंगलले विहार बनाए पनि त्यसलार्र्ई व्यक्तिगत सम्पत्तिकै रुपमा राखेका कारण आज विक्री गर्न सकेका हुन् । विहार विक्री गर्दा त्यहाँ समस्याको रुपमा भगवान बुद्धको मूर्ति देखा परेको थियो र मूर्ति फुटाल्ने प्रयास पनि भयो । ढुंगाको सानो चैत्य त फोडियो पनि ।
कपिलवस्तु क्षेत्रमा पहिलो बौद्ध विहार निग्रोधाराम हो । बुद्धत्व प्राप्तीपछि पहिलो पल्ट गृहनगर कपिलवस्तु आउँदा बुद्धलार्र्ई दान गरिएको विहार नै निग्रोधाराम थियो । यो विहार पुरातात्विक अवशेषका रुपमा हाल गोटिहवाभन्दा पश्चिम र तौलिहवाभन्दा केही दक्षिण रहेको छ जसलार्र्ई कुदान नामक पुरातात्विक स्थलको रुपमा चिनिन्छ । पछि अन्य विहारहरुको पनि निर्माण हुन थालेको देखिन्छ । नेपालमा व्यापक रुपमा विहार हरुको निर्माण भएको त कामठााडैंमा नै हो । विहारहरुको निर्माण हुनुको अर्थ हो, बौद्ध गतिविधि बढ्नु । तर एक समय राजकीय संरक्षण पाउने यिनै विहार र भिक्षुहरु राज्यकै कोपभाजन हुनुप¥यो र राणा कालमा त भिक्षुहरुलार्र्ई दुई पल्टसम्म देश निकाला नै ग¥यो । आज पनि नेपालको कानूनमा भिक्षुहरुको कुनै नीति वा व्यवस्था छैन । नेपालको कानूनले बौद्ध भिक्षुहरुलार्र्ई चिनेकै छैन । कानूनमा जोगीको उल्लेख त पाइन्छ तर जोगी र भिक्षु उही होइनन् । बुद्ध धर्मलार्र्ई नेपालमा व्यवस्थित गर्नका लागि भिक्षुहरुसम्वन्धी एउटा ऐनको आवश्यकता छ । यस विषयले बेलाबेलामा चर्चा पनि पाउँछ तर ठोस रुप भने लिन सकेको छैन ।
गौतम बुद्धको जन्मस्थलका रुपमा लुम्बिनी प्रख्यात छ । बौद्ध केन्द्रका रुपमा यसलार्र्ई विकास गर्न सकिन्छ । त्यस्तै प्रचुर संभावना भएको अर्को ठाउँ हो, कपिलवस्तु । तर कपिलवस्तुमा हाल इतिहास र पुरानिधिहरु भए पनि बौद्ध केन्द्रको रुपमा विकास गर्ने स्थिति भने छैन । धेरै काम गर्नु बाँकी नै छ । वर्तमान समयमा कपिलवस्तुले आफ्नो जुन पहिचान कायम गरिसकेको छ त्यसलार्र्ई यथावत् र निरन्तरता दिएरै पनि थप पहिचान बौद्ध केन्द्रका रुपमा अगाडि बढाउन सकिन्छ । यसका लागि सर्वप्रथमतः बौद्ध विहारहरुको स्थापना गर्नु प¥यो जुन मुलतः प्राचीन शिक्षण संस्था हो । ती संस्थाहरुले स्थानिय र वाह्यहरुलार्र्ई आकर्षित गर्नु पर्दछ र स्वतः बौद्ध केन्द्र बन्ने छ । तर भएको बौद्ध विहार नै अन्य प्रयोजनमा बिक्री हुनु कम दुःखदायी कुरा होइन ।
Wednesday, July 11, 2012
भृकुटी नेपालको राष्ट्रिय विभूति नै हुन त ?
O बसन्त महर्जन
देशका विविध क्षेत्रमा महत्वपर्ूण्ा योगदान पुर्याउने नागरिकलाई राष्ट्रिय विभूति घोषणा गरी गौरव गर्ने परम्परा भनौं एक खालको राष्ट्रवाद अन्यत्र पनि पाइन्छ । नेपालमा पनि एक समय राष्ट्रवादको विकास गर्न थुप्रै अभ्यास भएको पाइन्छ । राष्ट्रवादको विकासका लागि भएका अभ्यासमा राष्ट्रिय विभूतिको पहिचान र घोषणा पनि एक रहेको छ । यो आफैमा नराम्रो र अनावश्यक अभ्यास भने होइन । राजा महेन्द्रको पालामा गरिएको यो राष्ट्रिय विभूतिको पहिचान र घोषणा जानीनजानी वर्तमानमा पनि विद्यमान छ । हालसम्म थुप्रै व्यक्ति नेपालको राष्ट्रिय विभूतिको रूपमा घोषित भइसकेका छन् । ती जम्मै व्यक्तित्व चर्चाका छुट्टै विषय हुन् । घोषित विभूतिहरूमा एक राजकुमारी भृकुटी पनि हुन् । तर, राष्ट्रिय विभूतिका रूपमा उनको घोषणाको औचित्यको औचित्य प्रश्नको घेरामा परेको छ र यहाँ यसै विषयमा चर्चा गरिन्छ ।
हालसम्मको मान्यताअनुसार राजकुमारी भृकृटी राजा अंशुवर्माकी छोरी हुन् । तिब्बतका राजा श्रोङ-च्रङ-गम्पोबाट नेपालविरुद्ध भएको आक्रमण थेग्न नसकेर अंशुवर्माले छोरी दिई नेपाललाई पराधिन हुनबाट जोगाएको कुरा विद्यालय तथा विश्वविद्यालयका पाठ्यसामग्रीहरूमा समावेश छ । पाठ्यसामग्रीमा नै यो कुरा परेपछि जनसामान्यमा पनि यही मान्यता सजिल्यै र चाँडै स्थापित हुने त भइहाल्यो । राष्ट्रिय विभूतिको घोषणा गर्दा यसको औचित्यता प्रट्याउन राष्ट्रको भलाइका लागि विवाह गरेको मात्रै नभएर नेपालबाट दाइजोका रूपमा बुद्ध धर्म र संस्कृति पनि साथमा लगेर तिब्बतमा बुद्ध धर्मको प्रचारप्रसारमा ठूलो योगदान पुर्याएको भनी प्रशंसित छ । तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसार गरी जंगली सम्यतामा रहेको तिब्बतलाई सभ्यताको पाठ सिकाई यिनले नेपालको कर्ीर्ति फैलाएको भन्ने आधारमा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको मानिन्छ । तर, यी कुरा कुनै पनि ऐतिहासिक श्रोतसामग्रीबाट पुष्टि हँदैनन् । इतिहासको सामान्य ज्ञान विना नै गरिएको यो राष्ट्रिय विभूतिको घोषणा अब औचित्यताको प्रश्नसँग जुध्नु परेको छ ।
भृकुटीका सम्बन्धमा नेपालमा प्राप्त कुनै पनि ऐतिहासिक श्रोतसामग्रीले केही पनि जानकारी दिंदैन । मानौं, भृकुटी भन्ने कुरा यहाँ केही छँदै थिएन । तर यो प्रसंग तिब्बती एवं चिनियाँ श्रोतमा भने पाइन्छ । ती श्रोतहरूमा तिब्बतका राजाले विवाह गरेका नेपाली राजकुमारी भृकुटीलाई 'भ्याल्पो' देशका राजा 'गोचा' की छोरी भनी उल्लेख छ । 'भ्याल्पो'को नेपाल र 'गोचा'को अंशुवर्मा अर्थ लगाउँदै श्रोङ-चङ-गम्पोले नेपालका राजा अंशुवर्माकी छोरी भृकुटीसँग विवाह सम्बन्ध गाँसेको भनी र्सवप्रथम प्रकाश पार्ने काम सिलभाँ लेवीबाट भएको हो । लेभीको कुरा पुष्टि हुनु बाँकी नै थियो तर नेपाली लेखकहरूले यसलाई दृ्रततर गतिमा पुनर्लेखन गर्दै लगे ।
तत्कालिन नेपालको इतिहास अध्ययन गर्दा राजा अंशुवर्माले तिब्बतसँग कुनै पनि प्रकारको आक्रमणको सामना नै गर्नु परेको देखिन्न । उनको मृत्यु इश्वीसम्बत ६२१ मा भएको किटान छ । उनीपछि राजगद्दीमा उदयदेव बसेका थिए । उदयदेव थोरै समयका लागि मात्रै राजा हुन पाए । अर्थात् राजनीतिक घटनाक्रमले उनै नेपालबाट पलायन भर्य तिब्बतमा शरण लिन जानु परेको थियो । उता तिब्वती श्रोतले श्रोङ-चङ-गम्पो जन्म सन् ६१७ मानेको छ । यसलाई आधार मान्दा राजा अंशुवर्माको मृत्यु हुँदा श्रोङ-चङ-गम्पो भर्खर चार वर्षा बालक थिए र त्यति बेला उनको हैसियत भनेको एक सरदारका छोराको मात्रै थियो ।
तिब्बतमा सपरिवार शरण पाएका राजा उदयदेवको मृत्यु त्यहीं भएको इतिहासमा उल्लेख छ । सन् ६४१ मा तिब्बतको सैन्य सहायता पाई उदयदेवका छोरा नरेन्द्रदेवले नेपालमाथि आक्रमण गरी आफ्नो पुख्र्यौली राजगद्दी पुनः हात पारे । यसै बीच श्रोङ-चङ-गम्पो र भृकुटीको बीच विवाह भएको देखिन्छ । यो सत्य हो भने अंशुवर्माकी छोरी मानिएकी भृकुटी त्यस्तो नभएर राजा उदयदेवकी छोरी हुन आउँछ ।
'गोचा' शब्दले ज्योति, किरण, आदि अर्थ दिन्छ, अर्थात् यसले अंशुवर्मा र उदयदेव दुबैको संकेत गर्दछ । तिब्वती श्रोतले उदयदेवलाई संकेत गर्दै प्रयोग गरेको तिब्बती 'गोचा' शब्द सिलभाँ लेभीले अंशुवर्मालाई बुझेछन् र इतिहास गडबड हुन पुगेको देखिन्छ । यो गडबडीको स्तर कहाँ सम्म पुग्यो भने एक इतिहासकारले त तिब्वती श्रोतले भ्याल्पो देशका राजकुमारी भनेका कारण भृकुटीलाई खोज्न भ्याल्पो देशमा नै जानु पर्छ, नेपालमा होइन र यो नेपाली इतिहासको पाना नै होइन भनेरसम्म लेखे ।
तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसार गर्ने काम राजकुमारी भृकुटीबाट भयो भन्ने सम्वन्धमा त त्यसलाई नेपाली राष्ट्रवाद र भावुकताको उपज मात्रै मान्न सकिन्छ । भृकुटीको उमेर श्रोङ-चङ-गम्पोभन्दा दर्ुइ चार वर्षतलमाथि मात्रै हुन्छ होला । यस अर्थमा भृकुटी नेपालमा छँदा सानै थिइन् । त्यस्तो चारपाँच वर्षी भृकुटीले नेपालमा बौद्ध धर्मका कुराहरू कति नै सिक्न सके होलान् र जुन ज्ञानले तिब्बतलाई सभ्यता सिकाउने हैसियतमा बौद्ध धर्मका बारेमा कति नै सिक्न सकिन् होला र - बरु उनले तिब्बतमा बौद्ध धर्मका सम्वन्धमा ज्ञान हासिल गर्नु संभव छ । यो त्यही समय हो जति बेला तिब्बतमा नेपाल तथा भारतका थुप्रै विद्वान पुगेर बुद्ध धर्मका प्रचार प्रसारमा काम भएका थिए । तिब्बतमा बौद्ध धर्मलाई राजकीय संरक्षण प्राप्त थियो । अझ बौद्ध धर्मको विकासमा श्रोङ-चङ-गम्पोको विशेष योगदान रहेका कारण उनलाई अवलोकितेश्वर कै दर्जा दिइएको थियो । यसै भएर उनका दुई रानी अर्थात् नेपाली राजकुमारी भृकुटी र चिनियाँ राजकुमारी वेन्चेन् -कोङ्यो)लाई दायाँबायाँ राखी बनाइएको प्रतिमा देख्न पाइन्छ ।
वर्तमान नेपालमा राष्ट्रिय विभूति घोषित भृकुटी बारेमा तत्कालिन नेपालका अभिलेखहरू उनका सम्वन्धमा मौन हुनु कसैका लागि रहस्यमर्ूण्ा होला तर यो अर्थपर्ूण्ा पनि छ । राजा उदयदेवको सन् ६२१ को एउटै मात्र अभिलेख पाइएको छ भने उनका छोरा राजा नरेन्द्रदेवका सन् ६४३ देखिका शिला अभिलेखहरू प्राप्त छन् । नरेन्द्रदेवका कुनै पनि अभिलेखमा भृकुटीको उल्लेख पाइँदैन । यसको अर्थ हो- आफ्ना अभिलेखहरूमा भृकुटीको नाम उल्लेख गर्नुको आवश्यकताबोध नै नहुनु । अझ राजा नरेन्द्रदेवमा हुनसक्ने जातीय अभिमानका कारण आफ्नी बहिनी वा दिदी (नाता खुल्दैन) भृकुटी आश्रयदाताको हातमा सुम्पेर आउनु पर्दा गौरवको अनुभूति गर्न नसकेर पनि उनले शिलाअभिलेखमा भृकुटीको नाम उल्लेख नगरेका हुनसक्छन् । तर तिब्बतसँग नेपालको घनिष्टतम सम्बन्ध रहेको देखिन्छ । यदि तिब्बतको राजनीतिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक क्षेत्रमा भृकुटीको उल्लेखनीय योगदान हुँदो हो त नरेन्द्रदेवले आफ्नो जातीय अभिमानलार्य थान्को लगाएर भएपनि भृकुटीप्रति गौरवानुभूति गरेर कतै न कतै उनको नाम उल्लेख गर्थे । प्राप्त श्रोत सामग्रीहरूमा यो कुरा उल्लेख नभएपनि भविष्यमा प्राप्त हुन सके कुरा बेग्लै हो ।
'राष्ट्रिय विभूति' भन्ने कुरा वस्तुगत र तथ्यमूलक हुनु पर्दछ । यो भावनामा बहने कुरा होइन । न त स्तुतीको अर्को रूप । राष्ट्रिय विभूति मानेपछि त्यस राष्ट्रका नागरिकहरूले आफ्नो राष्ट्रिय विभूतिबाट केही सिक्न पाउनु पर्दछ । तिनका बारेमा केही जान्न पाउनुपर्छ । तर इतिहासम्मत नभएका र कल्पनाका भरमा लेखिएका कुराहरूले तिनीहरूको चित्त बुझाउन सम्भव हुँदैन । यसरी नै आधारहीन कुरामा राष्ट्रिय विभूतिको घोषणा गर्दै जाने हो भने साँच्चैका राष्ट्रिय विभूत्रि्रतिको विश्वासमा संकट सिर्जना हुन सक्छ । यस कुरामा सचेत हुनु पर्छ र नयाँ नेपालको चर्चा चििलरहेको यति बेला राष्ट्रिय विभूतिको सर्न्दर्भमा पनि कुरा उठाउन र त्यसको तथ्यसंगत छिनोफानो गर्न जरुरी छ होइन भने लोकोक्तीका आधारमा घोषणा गरिएका राष्ट्रिय विभूतिलाई मान्न कोही पनि तयार हुँदैन ।
Subscribe to:
Posts (Atom)
महामारीमा नेवार समाज: उहिल्यै पनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !
महामारीमा नेवार समाज: उहिल्यै पनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे ! : अहिले चर्चामा रहेका ‘क्वारेन्टिन’, ‘आइसोलेसन’ र ‘लकडाउन’ जस्ता ...
-
दाता पाइयो भन्दैमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको उत्खनन गर्नैपर्छ भन्ने हुँदैन। - बसन्त महर्जन नेपालमा पुरातात्विक ...
-
O बसन्त महर्जन देशका विविध क्षेत्रमा महत्वपर्ूण्ा योगदान पुर्याउने नागरिकलाई राष्ट्रिय विभूति घोषणा गरी गौरव गर्ने परम्परा भनौं एक ...
-
बसन्त महर्जन एक अमेरिकी जुत्ता कम्पनीले डिजायन गरेको र आफ्नो ‘वेभसाइट’बाट सार्वजनिक गरेको गौतम बुद्धको आकृति अंकित जुत्ता अहिले आलोचना...


