Sunday, September 02, 2012

जुत्तामा बुद्ध आकृति र बौद्धहरूको क्षमाशीलता

  • बसन्त महर्जन
 एक अमेरिकी जुत्ता कम्पनीले डिजायन गरेको र आफ्नो ‘वेभसाइट’बाट सार्वजनिक गरेको गौतम बुद्धको आकृति अंकित जुत्ता अहिले आलोचना र छलफलको विषय बनेको छ । उक्त डिजायनले बुद्धको अपमान गरेको त हुँदै हो साथसाथै यसले आफ्नो क्षुद्रताको पनि प्रदर्शनी ग-यो । कम्पनीलाई पनि राम्रैसँग हेक्का होला, यस्ता उत्पादनहरू मास प्रडक्शनमा जाँदैन । बुद्धको मानमर्दन गर्न चाहनेहरूले आत्मतुष्टिका लागि केही उत्पादन गर्ला र त्यस्तै खालका कुत्सित मनसाय भएकाहरूले किन्ला तर तिनीहरू खुल्लमखु्ल्ला आउन सक्दैनन् ।  तिनीहरूले भौतिक रूपमा जुत्ताको उत्पादन कार्य थाल्यो वा थालेन भन्ने कुरा त स्पष्ट छैन तर यस प्रकरणमा तिब्बत, श्रीलंकालगायतका बौद्ध मुलुकहरूले सरोकार देखाउँदै आफ्नै तरिकाले विरोध जनाएपछि अन्नतः कम्पनिले सो जुत्ता उत्पादन नगर्ने भइसकेको छ । कम्पनीले आफ्नो वेभसाइटबाट सो तस्वीर हटाइसकेको छ । तर पनि यस विषयमा छलफल गर्नु भने नितान्त जरुरी देखिन्छ । 

 जुत्तामा बुद्धको आकृति अंकित गरिएको यो पहिलो घटना भने होइन । बेला बेलामा यस्ता घटनाहरू हुँदै गरेको पाइन्छ । कहिले जुत्तामा त कहिले अन्डरवेयरमा बुद्धको तस्वीर अंकित गरेर वस्तु उत्पादन गरेको पाइन्छ । यसरी नै महिलाले प्रयोग गर्ने ‘ब्रा’ मा बुद्धको तस्वीर अंकित गरेर वस्तु उत्पादन गर्दा पनि विरोध भएको थियो । जुत्ता, अन्डरवेयर, ब्रा  आदिमा बुद्धको तस्वीर अंकित गर्नु आपत्तीजनक हो । बौद्धहरूले दैनिक रूपमा पालना गर्नु पर्ने पञ्चशीललाई नै धज्जी उडाउने गरी रक्सीको ब्रान्ड वा बारको नाम नै बुद्धको नामबाट राख्न पनि खोजेको पाइन्छ । बुद्ध नेपालमा जन्मेको भनेर गौरव मान्ने देश नेपालमा नै पनि कहिले रक्सीको विज्ञापनमा बुद्ध राखेर प्रकाशित गरिन्छ त कहिले अपव्याख्या गरेर अपमान गर्ने गरिन्छ तर नेपाली मिडियाको पहुँच विश्वसँग नभएका कारण विरोधको स्तर ठूलो हुन पाउँदैन । नेपाली बौद्धहरूमा रहेको क्षमा वा सहनशीलताले पनि यसलाई ठूलो रूप दिँदैन र कुरा सामसुम भएर जान्छ । जुत्तामा बुद्धको आकृति राखिएको भनेर आपत्ती जनाइरहेकै बेला नेपालकै राष्ट्रिय स्तरका ‘ब्रोड सीट’ पत्रिकाहरूमा रक्सीको विज्ञापनमा बुद्धको तस्वीर राखेर आफ्नो कुत्सीत भावना पोखेको आलै छ । यस्तो घटना अन्य धर्मसम्प्रदायलाई चिढाउने गरी गरेको पाइन्छ । मोहम्मद पैगम्वरलाई कार्टून बनाएर पत्रिकामा छापेका कारण आक्रोशित इस्लामहरूले पत्रिकाको कार्यालय नै ध्वष्ट पार्नुका साथै कार्टुनिष्ट र सम्पादकमाथि पनि घातक हमला गर्न पुगेको घटना पुरानो भएको छैन । त्यस देशको एउटा राजदूतावासमाथि बम आक्रमण गरेर असन्तुष्टि व्यक्त गरेको घटनाले यो कति सम्बेदनशील विषय हो भन्ने कुरा छर्लंङ्ग पार्दछ । कहीं जीसस क्राइकको अपमान गरेको पाइन्छ त कहीं पैगम्वरको । यसरी नै हिन्दू धर्मका देवदेवीहरूका चित्रको पनि बेलाबेलामा दुरूपयोग गर्ने गरिन्छ । प्रत्येकपल्ट सम्वन्धित धर्मावलम्बीहरूलाई दुःखित पारिन्छ र प्रतिकृयामा विध्वंशक घटना पनि हुने गर्दछ । 

 बुद्धको अपमान वर्तमानमा मात्रै नभएर स्वयं बुद्धको जीवनकालमा नै पनि हुन्थ्यो । जातिवादमा आधारित तत्कालीन सामाजिक संरचनाका विरुद्ध बुद्धले एक प्रकारले जिहाद नै छेडे । आफ्नो संघमा उनले सर्वजातलाई खुल्ला प्रवेश मात्रै दिएनन्, जातिवादमाथि कडा शब्दले प्रहार पनि गरे । जन्मका आधारमा शुद्र र जन्मकै आधारमा ब्राम्हण हुन्न बरु कर्मको आधारमा हुन्छ भन्ने धम्मपदको गाथा प्रसिद्ध छ । नाई समुदायबाट आएका भिक्षु उपालिलगायत थुप्रैलाई संघमा निर्वाध प्रवेश दिइएको थियो जसलाई तत्कालीन समाजले तल्लो जात भनी कतिपय ठाउँमा निषेध गरिन्थ्यो । जाति, भाषा, लिंग तथा कतिपय मानवनिर्मित विभेदहरूलाई अस्वीकार गर्नु तत्कालीन समाजका लागि क्रान्तिकारी कदम थियो भने अनित्य, दुःख र अनात्म जस्ता दार्शनिक अवधारणाको स्थापनाले तत्कालीन समाजमा एकप्रकारले भुइँचालो नै ल्याइदिएको थियो । यही भएर कतिपय ‘के निहँ पाउँ कनिका बुक्याउँ’ भनेजस्तो बुद्धलाई गाली गर्न र अपमान गर्न ताक हेरेर बस्थे । कोही बुद्धकै सामुन्ने तथानाम गाली गरेर मानमर्दन गर्न खोज्थे भने कोही पीठ पछाडि । यसरी नै बुद्धका शिष्यहरूको अगाडि बुद्धको निन्दा गर्दथे । क्षमा दिनमा बुद्ध त अद्वितीय भइहाले । कतिपय अवस्थामा आफूमाथि भएको गाली गलौज वा आलोचनाहरूको तर्कपूर्ण जवाफ दिएर विपक्षीलाई चित्त बुझाउँथे भने कतिपय अवस्थामा बुद्ध चुप लागेर बस्थे । देवदहतर्फ जाँदै गर्दा बाटोमा आफ्नै ससुरा सुप्रबुद्धले बुद्धलाई यसरी नै गालीगलौज गर्दा बुद्ध चुपचाप फर्केका थिए । दीघनिकायको प्रसिद्ध ‘ब्रम्हजाल सूत्र’ को पृष्ठभूमि नै बुद्धमाथि विपक्षीको निन्दा हो र उक्त सूत्रमा भिक्षुहरूलाई कस्तो व्यवहार गर्नु पर्दछ भन्ने कुरा सिकाएका थिए । 

 बुद्ध आकृति अंकित जुत्ताको प्रकरणपछि उत्पन्न प्रतिकृयाहरू बडो रोचक छन् । प्रकृतिका आधारमा ती प्रतिकृयालाई दुई वर्गमा बाँड्न सकिन्छ । कतिपयले कडा शब्दहरू प्रयोग गरीे आक्रामक शैलीमा मनोभाव प्रकट गरे । विपक्षीहरूलाई आक्रमण गर्न जानू भनेर बुद्धले सिकाएकै छैनन् बरु क्षमाशील हुन र आफ्नो धर्ममा अडिग भएर बस्न भनेका छन् । तसर्थ यस्ता निन्दाहरूलाई बौद्धहरू उपेक्षा गरेर बस्छन् र जुत्ताको प्रकरणमा पनि उपेक्षा गरेरै बसेको पाइयो । स्वदेशमा हुने घटनालाई त चुपचाप सहन्छन् भने विदेशमा हुने घटनालाई सहने त भइहाल्यो । आफू बौद्ध नभएपनि र बुद्धको शिक्षाबारे जानकारी नभएपनि कति धेरै मान्छे बुद्धका प्रशंसक रहेछन् भन्ने कुरा यसबाट पनि बुझियो जसले आक्रामक शैलीमा आलोचना ग¥यो, जवाफमा अर्कै खालका आकृतिहरूको सिर्जना पनि ग¥यो । तर उदेक लाग्दो कुरा यो वर्गको नेपालीहरु नेपालमा नै हुने घटना किन देख्दैनन् ? 

 नेपाली रूपैया पैसामा बुद्धको आकृति अंकित गरिनु पर्दछ भन्नेहरूको संख्या नेपालमा बाक्लो नै रहेको बुझियो । यस प्रकारको अभियान फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा देखिन्छ । यो अभियानको विपक्षीमा उभिँदा यो लेखकले थुप्रै खालका खप्की खानु परेको थियो । नोटमा बुद्धको तस्वीर राख्ने सोचाइ झट्ट हेर्दा बुद्ध र बौद्धप्रति सम्मान भएपनि वास्तवमा सम्वन्धित पक्षले ठूलो अपमानको रूपमा लिन्छन् भन्ने कुरा यी अभियन्ताहरूले बुझ्न नसकेको पाइयो । रूपैया पैसाको व्यवहार बेग्लै प्रकारले हुने हुन्छ र त्यसमा बुद्धको आकृति हुने हुँदा बुद्धप्रति उचित सम्मान हुँदैन । यही भएर रूपैयापैसामा बुद्धको आकृति अंकित नगरेका हुन् । कुषाणवंशका बौद्ध राजा कनिष्कले आफ्नो मुद्रामा बुद्धको सम्मान गर्दै बुद्धको मुहार राखेको पाइन्छ तर पछि यस्तो कार्य प्रचलनमा आएन । आधुनिक कालमा भूलवश कुनै एक राष्ट्रले आफ्नो मुद्रामा बुद्धको आकृति अंकित गरेको थियो र पछि बौद्धहरूले चित्त दुखाएपछि यथार्थ कुरा बुझेर जम्मै मुद्रा संकलन गरी त्यसलाई स्तूपको रूप दिएर बुद्धप्रतिको सम्मानलाई अक्षुण्ण राखेको थियो । यस प्रकार एक अमेरिकी कम्पनीले बुद्धको तस्वीर राखेर जुत्ता उत्पादन गर्नु र नेपालमा मुद्रा निस्काशन गर्नु अभियान चलाउनुमा आशय फरक भएपनि तात्विक भिन्नता पाइन्न । 

 एक कम्पनीले बुद्धको तस्वीर राखेर जुत्ता बनाएको घटनालाई लिएर पूरै अमेरिका र अमेरिकीलाई मुछ्नु हुन्न । बुद्ध धर्मको विस्तार अमेरिकामा दू्रततर गतिमा हुँदैछ । त्यहाँ भिक्षु भिक्षुणीमात्रै नभएर उपासक उपासिकाहरूको संख्या पनि बढ्दो छ । उनीहरू बाबुबाजे बौद्ध भएकै कारण छोरा नाति पनि बौद्ध बनेका होइनन् बरु गहन अध्ययन र चिन्तनको परिणाम हो । बुद्ध धर्मको विकास क्रममा विभिन्न तर विशिष्ट पहिचानहरू देख्न पाइन्छ जस्तो, श्रीलंकलन बुद्धिज्म, तिब्बेतियन बुद्धिज्म, बर्मिज बुद्धिज्म, चाइनिज बुद्धिज्म, कोरियन बुद्धिज्म । अन्यत्रभन्दा भिन्दै प्रकारले काठमाडौंको नेवार समाजमा बज्रयान बौद्ध धर्मको विकास पाइएका कारण त्यसलाई ‘नेवार बुद्धिज्म’ नाम दिइएको छ, यद्यपि नेवार समाजमा अन्य सम्प्रदायको बुद्धिज्म नभएको होइन । अमेरिकामा बौद्ध गतिविधिहरूलाई नियाल्दा उनीहरू पनि आफ्नो छुट्टै पहिचान कायम गर्न उद्यत रहेको र निकट भविष्यमा नै ‘अमेरिकन बुद्धिज्म’ को घोषणा गर्न पृष्ठभूमि बनाइरहेको देखिन्छ । यस्तो महान कार्यमा उद्यत रहेको अमेरिकालाई जुत्ताको प्रकरणमा मुछ्नु भनेको अरु जम्मै कुरालाई भुलेर क्षुद्रतालाई मात्रै देख्नु हुन्छ, जुन समयको अन्तरालमा यत्तिकै बिलाएर जान्छ । (हसना म्यागेजिन)

महामारीमा नेवार समाज: उहिल्यै पनि‌ ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !

महामारीमा नेवार समाज: उहिल्यै पनि‌ ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे ! : अहिले चर्चामा रहेका ‘क्वारेन्टिन’, ‘आइसोलेसन’ र ‘लकडाउन’ जस्ता ...